थाइल्याण्ड र कम्बोडियाबीचको युद्धविरामलाई निरन्तरता दिने सहमति
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
1.5k
Shares
काठमाडौँ। थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा गत महिना भएको पाँचदिने युद्धपछि भएको अस्थायी युद्धविरामलाई लम्ब्याउने सहमति भएको छ। बिहीबार दुवै देशका रक्षा अधिकारीहरूले यस सम्झौतालाई निरन्तरता दिन एक संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन्।
सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलिरहेको विवाद हिंसामा परिणत हुँदा पाँच दिनमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ मध्यस्थकर्ताको आग्रहमा आसियान अध्यक्ष तथा मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले मध्यस्थता गरी अस्थायी युद्धविराम गराएका थिए।
पूर्ण युद्धविराम: दुवै पक्षले सबै प्रकारका हतियारको प्रयोग र नागरिक तथा गैर-सैनिक वस्तुमाथि आक्रमण नगर्ने सहमति गरेका छन्।
सैनिक आवागमनमा रोक: सीमा क्षेत्रमा सैनिकको आवागमन र गस्तीमा रोक लगाइएको छ।
गलत सूचना नियन्त्रण: दुवै पक्षले तनाव कम गर्नका लागि गलत सूचना (फेक न्यूज) नफैलाउने सहमति गरेका छन्।
अर्को बैठक: एक महिनाभित्र अर्को बैठक बस्ने सहमति भएको छ।
कम्बोडियाका रक्षामन्त्री टि सेइहाले यो सम्झौतालाई जीवन रक्षाका लागि महत्त्वपूर्ण कदम भन्दै यसले दुई देशबीच विश्वास र सामान्य स्थिति पुनर्स्थापना गर्ने आधार तयार पार्ने बताएका छन्। थाइल्याण्डका उपरक्षामन्त्री नाट्टाफोन नार्कफानितले पनि दुवै पक्षको सहयोग र इमान्दारिता आवश्यक रहेको बताए।
तर, पर्यवेक्षकका रूपमा उपस्थित मलेसियाका लागि अमेरिकी राजदूत एडगार्ड कागनले यो सम्झौता दिगो शान्तिका लागि पहिलो कदम मात्र भएको र दुवै देशबीच अझै पनि उच्च तहको अविश्वास र तनाव रहेको बताएका छन्।
सन् १९०७ मा भएको अस्पष्ट सीमाङ्कनका कारण विवादित बनेको यो क्षेत्रमा भएको झडप एक दशकयताकै सबैभन्दा घातक थियो, जसले गर्दा तीन लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।