arrow

क्लोरिन ग्याँस चुहावट हुँदा छ सय भन्दा बढी तीर्थयात्री बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
iraq-map.png

इराक । इराकमा पानी प्रशोधन केन्द्रमा चुहावटको परिणामस्वरूप क्लोरिन सास फेर्दा छ सयभन्दा बढी तीर्थयात्रीलाई श्वासप्रश्वासको समस्याका कारण अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले आइतबार बताएका छन् ।

इराकको मध्य र दक्षिणमा अवस्थित दुई शिया पवित्र सहर नजफ र करबलाबीचको मार्गमा रातभरि यो घटना भएको हो ।

यस वर्ष, लाखौँ शिया मुस्लिम तीर्थयात्री करबलामा जाने अपेक्षा गरिएको छ । त्यहाँ पूजनीय इमाम हुसेन र उनका भाइ अब्बासका मन्दिर छन् ।

त्यहाँ उनीहरूले ४० दिनको शोक अरबाइन मनाउनेछन् । यसमा शियाहरूले पैगम्बर मोहम्मदका नाति हुसेनको मृत्युको सम्झना गर्छन् । एक संक्षिप्त बयानमा इराकको स्वास्थ्य मन्त्रालयले ‘करबलामा क्लोरिन ग्यास चुहावटपछि श्वासप्रश्वासका छ सय २१ वटा घटना दर्ता भएको’ बताएको छ ।

“सबैले आवश्यक हेरचाह पाएका छन् र स्वस्थ अवस्थामा अस्पतालबाट निस्किएका छन्”, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच तीर्थयात्रीको सुरक्षाका लागि जिम्मेवार सुरक्षा बलले उक्त घटना ‘करबला-नजफ सडकमा रहेको पानी केन्द्रबाट क्लोरिन चुहावट’ भएको बताएको छ ।

दशकौँको द्वन्द्व र भ्रष्टाचारका कारण इराकका धेरैजसो पूर्वाधार जीर्ण अवस्थामा छन् । सुरक्षा मापदण्डहरूको पालना प्रायः शिथिल रहन्छ ।

जुलाईमा पूर्वी सहर कुटको एक सपिङ मलमा भएको ठूलो आगलागीमा ६० भन्दा बढी मानिसको ज्यान गएको थियो । तीमध्ये धेरै जनाको शौचालयमा श्वास फेर्न नसकेर मृत्यु भएको अधिकारीहरूले बताएका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ