arrow

ऊर्जा रुपान्तरणका लागि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता

logo
डा रणबहादुर थापा,
प्रकाशित २०८२ साउन २८ बुधबार
hamrakura-article-ranbahadur-thapa.jpg

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताले देशमा आर्थिक वृद्धि, ऊर्जा सुरक्षा, ऊर्जाका स्रोतको विविधीकरण र जलवायु परिवर्तनमा योगदान पुर्‍याउँछन् । विश्वभरका विभिन्न समुदाय यी दुवै क्षेत्रको प्रवर्द्धन तथा विस्तार गर्न आवश्यक नीति, योजना, कार्यक्रम तथा परियोजनाहरु कार्यान्वयन गरी पहिले नै अभ्यस्त भएको पाइन्छ । नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका गतिविधि बीचको घनिष्ठ सम्बन्धले अझ बढी लाभ प्रदान गर्न सक्छन्, जसका लागि राज्यले दुबै पक्षको प्रवर्द्धन र विस्तारयोग्य नीति, योजना, कार्यक्रम तथा परियोजना कार्यान्वयन गरी एकापसको तादम्यताबाट अधिकरुपमा लाभ लिन सकिने सम्भावना छन् ।

ऊर्जा दक्षता भन्नाले थोरै ऊर्जा प्रयोग गरेर बढी मात्रामा काम गर्नु हो । यसको अर्थ ऊर्जाका स्रोतको प्रयोग गर्दा त्यस्तो उपकरण तथा विधि अपनाइन्छ, जसले कम ऊर्जा खर्च गरेर पनि राम्रो नतिजा हासिल गर्दछ । त्यसैगरी, नवीकरणीय ऊर्जा भन्नाले त्यस्ता स्रोतलाई जनाइन्छ, जुन प्राकृतिक रुपमा पुनः प्राप्त हुन्छन् र कहिल्यै सकिदैनन् । सरल भाषामा, ऊर्जा दक्षता भन्नाले चुहावट घटाएर बाल्टिनलाई सानो बनाउनु हो भने नवीकरणीय ऊर्जा भनेको बाल्टिनलाई सफा पानी अर्थात् स्वच्छ ऊर्जाले भर्नुजस्तो हो । नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता, भविष्यको दिगो र भरपर्दो ऊर्जाका लागि महत्वपूर्ण घटकहरु हुन्, जसलाई ‘जुम्ल्याहा स्तम्भहरु’ पनि भनिन्छ । ऊर्जा दक्षताले ऊर्जाको मागमा कमी ल्याउने र नवीकरणीय ऊर्जाले स्वच्छ ऊर्जाको आपूर्ति बढाउने हुँदा दिगो ऊर्जा प्रणालीमा अझ छिटो र प्रभावकारी रुपमा ऊर्जा रुपान्तरणको प्राप्ति हुन्छ । नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताबीचको तादम्यताबाट देहाय बमोजिम कायम हुने गर्दछः

समयमा तादम्यताः ऊर्जा दक्षताको ऊर्जा-बचत क्षमता छोटोदेखि मध्यम अवधिमा प्रभावकारी हुन्छ, तर यो अनन्तकालसम्म सम्भव हुँदैन । त्यसैले, अल्पकालमा ऊर्जा आपूर्ति गर्न र दीर्घकालमा अवसर विस्तार गर्न नवीकरणीय ऊर्जाको आवश्यकता पर्दछ ।

आर्थिक तादम्यताः अधिकांश अध्ययनले ऊर्जा दक्षतामा ऊर्जा उत्पादन गर्ने प्रविधिको तुलनामा ऊर्जाको सबैभन्दा कम लागत लागेको देखाएका छन् । साथै, नवीकरणीय ऊर्जाका प्रविधि परम्परागत तथा आयातित ऊर्जा उत्पादन प्रविधिसँग लागतको आधारमा प्रतिस्पर्धा गर्न सक्षम छन् । तसर्थ, एकै समयमा दुवै समाधान प्रयोग गर्दा ऊर्जा प्रणालीको समग्र लागत कम गर्न सकिन्छ । यसबाहेक विभिन्न क्षेत्रमा लगानी र रोजगारी सिर्जना गरेर आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।

भौगोलिक तादम्यताः नवीकरणीय ऊर्जाको सम्भाव्यता भौगोलिक अवस्थामा निर्भर हुन्छ, जबकी अधिकांश ऊर्जा दक्षताका समाधान स्थान विशिष्ट हुँदैनन् । तसर्थ, उपयुक्त नवीकरणीय ऊर्जाको सम्भाव्यता नभएका स्थानमा ऊर्जा दक्षताले ऊर्जाको मागमा कमी ल्याई न्यूनतम् नवीकरणीय वा उपलब्ध अन्य ऊर्जाबाट आपूर्ति गरी तादम्यता कायम गर्न सकिन्छ ।

विद्युत शक्ति प्रणाली तादम्यताः प्रसारण प्रणालीको भारमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाको प्रभाव समयको साथ भिन्न हुन्छ । उदाहरणका लागि, गर्मीको समयमा ऊर्जा दक्षताले भार कम गर्न सक्छ र नवीकरणीय ऊर्जा प्रविधिले बाँकी भार पूरा गर्नसक्छन् । साथै, तिनीहरुले आपूर्तिका स्रोत विविधिकरण गरेर प्रसारण प्रणालीलाई थप विश्वसनीय बनाउन मद्दत गर्दछन् ।

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतालाई संयुक्त रुपमा कार्यान्वयन गर्दा कुल ऊर्जाको माग घटाउने, कुल राष्ट्रिय ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सा बढाउने, ऊर्जा उत्पादनको लागतमा कमी ल्याउने, ऊर्जा स्रोतको विविधता वा समिश्रण सुनिश्चित गरी प्राकृतिक प्रकोपमा अनुकुलन हुन मद्दत गर्ने, ऊर्जा प्रणालीको समग्र सुरक्षामा अभिवृद्धि गर्ने, ऊर्जाको मूल्य घटाएर, लगानीबाट रोजगारी सिर्जना गरी राष्ट्रको आर्थिक वृद्धिमा टेवा पुर्‍याउने तथा विश्वव्यापी कार्बन कटौती गरी जलवायु परिवर्तन न्यूनीकरणमा ठूलो भूमिका खेल्न सक्दछ । नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताबीच तादम्यता कायम गर्नविश्वव्यापी अनुभवका आधारमा देहायबमोजिमको रणनीति बनाई संयुक्त रुपमा लागू गर्नुपर्ने हुन्छः

ऊर्जाको मागमा कमी ल्याउने रणनीतिः ऊर्जा दक्षताले कम ऊर्जाको प्रयोगबाट समान परिणाम प्राप्त गर्ने काम गर्दछ । यो विभिन्न उपायमार्फत प्राप्त गर्न सकिन्छ । ऊर्जा दक्षतायुक्त उपकरणको प्रयोग गरेर, भवन निर्माणमा इन्सुलेसनको प्रयोग गरेर, औद्योगिक प्रक्रिया अनुकूलन गरेर, विद्युतीय गाडीको प्रयोग गरेर आदि तरिकाबाट ऊर्जाको मागमा कमी ल्याउन सकिन्छ ।

यसरी ऊर्जा दक्षताले समग्र ऊर्जाको माग घटाएर, बाँकी ऊर्जाको आवश्यकता नवीकरणीय ऊर्जाबाट पूरा गर्न सहज बनाउँछ । यसले नवीकरणीय ऊर्जा प्रणालीमा छिटो रुपान्तरण गर्दै कार्बन कटौती (डिकार्वोनाइजेशन) को समग्र लागत घटाउन मद्दत गर्दछ ।

ऊर्जाको आपूर्तिमा वृद्धि गर्ने रणनीतिः सौर्य, वायु, जलस्रोत, तथा भूतापीयजस्ता नवीकरणीय ऊर्जा प्रविधिले परम्परागत-जीवाष्म इन्धन तथा आयातित ऊर्जाको विकल्प प्रदान गर्दछन् । यी ऊर्जाहरु प्राकृतिक रुपमा उपलब्ध हुने, स्वच्छ तथा प्रदूषणरहित हुन्छन् । नवीकरणीय ऊर्जा, ऊर्जा दक्षतासँग संयुक्त प्रयोग हुन्छ, नवीकरणीय ऊर्जाको बढ्दो आपूर्तिले अधिक सुरक्षित र किफायती ऊर्जा प्रणालीको सुनिश्चित गर्न सक्दछ ।

उपयुक्त नीति तथा प्रविधिको उपयोग गर्ने रणनीतिः भविष्यमा दिगो ऊर्जा हासिल गर्न ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा प्रविधि दुवैमा निरन्तर नवीनता अपरिहार्य छ । यसका अलावा, उपयुक्त नीति, निरन्तर नवीनतम् प्रविधिको उपयोग तथा त्यससम्बन्धी सहज नीति निर्माण गरी दुवै पक्षलाई प्रोत्साहित गरेर सकारात्मक प्रतिक्रिया लुप सिर्जना गर्दै एकापसमा तादम्यता कायम गर्न आवश्यक हुन्छ ।

पर्याप्त रणनीतिक सुधारः उपयुक्त रणनीति दैनिक दिनचर्चा र जीवन शैलीको मूल्याङ्कनको साथ शुरु हुन्छ, ताकी तिनीहरुको मागसँग मिलान गर्न सकियोस् । यसको परिणामले आवश्यकतामा कमी ल्याउन, प्रतिस्थापन गर्न र अनुकूलनको लागि सक्षम हुन प्रेरित गर्दछ ।

यसरी भविष्यमा दिगो ऊर्जा हासिल गर्न ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा प्रविधि दुवैमा तादम्यता कायम गर्न ऊर्जाको उपयोग गर्ने निकायलाई ऊर्जाको आवश्यकतामा कमी ल्याउन, प्रतिस्थापन गर्न र अनुकूलनका लागि सक्षम हुन प्रेरित गर्ने उपयुक्त रणनीति बनाई कार्यान्वयन गर्नुपर्दछ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताबीचको तादम्यता कायम गर्न सकिने विभिन्न उपाय छन् । ऊर्जा आपूर्ति शृङ्खलाको प्रत्येक चरण (प्राथमिक ऊर्जाको स्रोतदेखि उपयोगसम्म) मा चुहावट हुन्छन् । तसर्थ, ऊर्जा आपूर्तिको हरेक चरणमा समग्र प्रणालीको दक्षता बढाउने प्रचुर सम्भावना रहन्छ ।

नवीकरणीय ऊर्जा, भार केन्द्रको नजिकै हुने, थर्मल ऊर्जा रुपान्तरणको आवश्यकता नपर्ने र धेरै दूरीमा प्रसारण गर्न नपर्ने साथै स्वयम् कुशल हुनुले यसबाट अधिक मात्रामा प्राथमिक ऊर्जा उपलब्ध हुन्छ । विकेन्द्रीकृत नवीकरणीय ऊर्जाको प्रयोगले सम्भावित चुहावट पनि कम गर्दछ । प्रकाश उत्सर्जन डायोड लिड बल्ब ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाबीच तादम्यता सिर्जना गर्ने प्रमुख उदाहरण हो, जसले परम्परागत इन्केन्डिसेन्ट बल्बको तुलनामा छदेखि आठ गुणा अधिक कुशलतापूर्वक समानस्तरको प्रकाश उपलब्ध गराउँछ ।

त्यसैगरी, जैविक ऊर्जामा आधारित सुधारिएको चुलो तथा नवीकरणीय ऊर्जामा आधारित विद्युतीय चुलोहरु, यी दुवै पक्षमा प्रभाव पार्ने प्रविधि हुन् । परम्परागत चुलोको तुलनामा सुधारिएको चुलोले दुई, तीन गुणा अधिक कुशलतापूर्वक समानस्तरको खाना पकाउने ऊर्जा उपलब्ध गर्दछ, जुन वातावरणमैत्री हुनुका साथै आधुनिक तथा स्वच्छ पनि हुन्छ।

त्यसैगरी, विद्युतीय चुलोबाट पनि परम्परागत चुलोको तुलनामा दुईदेखि छ गुणा बढी कुशलतापूर्वक समानस्तरको खाना पकाउने सेवा प्राप्त गर्न सकिन्छ, जुन तुलनात्मक रुपमा सबैभन्दा स्वच्छ र आधुनिक पनि छ । यातायात क्षेत्रमा आन्तरिक दहन इन्जिन सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधनको प्रयोगले दुईदेखि चार गुणा बढी कुशलतापूर्वक समानस्तरको यातायात सुविधा प्राप्त हुन्छ । यसरी परम्परागत इन्जिनको तुलनामा नवीकरणीय ऊर्जामा आधारित विद्युतीय सवारीसाधनले यातायात क्षेत्रलाई कम कार्बन उत्सर्जन वा शून्य कार्बन अवस्थामा पुर्याउन ठूलो मद्दत गर्दछ ।

तापीय पम्पजस्ता प्रविधिले ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाबीच प्राविधिक र आर्थिक तालमेल गर्दछ । तापीय पम्पले औद्योगिक र व्यावसायिक भवनका लागि आवश्यक समानस्तरको ताप माग परम्परागत बोइलरको तुलनामा चार/पाँच गुणा अधिक कुशलतापूर्वक पूरा गर्दछ । यदि यसलाई नवीकरणीय ऊर्जा आपूर्तिको साथ उपयोग गरेमा समग्र प्रणाली दक्षता अधिक कुशल विद्युत् उत्पादन र प्रसारणको कारण अझ बढी हुन्छ ।

खुद शून्य ऊर्जा भवन अर्को उदाहरण हो, जसमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाको संयोजनबाट खासगरी व्यावसायिक भवनहरुमा भवनबाट हुने वार्षिक नवीकरणीय ऊर्जा र भवनमा ग्रीडबाट प्राप्त हुने वार्षिक ऊर्जा बराबर हुने गरी डिजाइन भएको भवन खुद शून्य ऊर्जा भवन हो ।

यस्ता भवनमा उच्च दक्षता भएका उपकरण, उपयुक्त इन्सुलेशनयुक्त निर्माण सामग्रीसहित उचित तापीय, भेन्टिलेशन तथा एअर कण्डिशनिङ प्रणालीको सुनिश्चित गरिएको हुन्छ । परम्परागत व्यावसायिक भवनको तुलनामा यस्ता भवनहरु ३० देखि ८० प्रतिशतसम्म ऊर्जा कम गर्न सक्षम भएको पाइन्छ ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको संयुक्त कार्यान्वयनको सम्भावना ऊर्जा दक्षताका विभिन्न उपाय र नवीकरणीय ऊर्जाका सम्भावनाको द्रूत विकास र विस्तारबाट समग्र ऊर्जा प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सामा थप वृद्धि र ऊर्जा दक्षतामा अधिक छिटो सुधार हुन्छ ।

सन् २०१५ मा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीको एक अध्ययनले नवीकरणीय ऊर्जा मार्गचित्र र ऊर्जा दक्षताका उपायहरु छुट्टाछुट्टै र संयोजनमा कार्यान्वयन गर्दाको अनुभव प्रस्तुत गरेको थियो । यस अनुसार सन् २०३० सम्म छुट्टाछुट्टै कार्यान्वयन गर्दा नवीकरणीय ऊर्जाबाट ऊर्जा बचत पाँचदेखि १० प्रतिशत, ऊर्जा दक्षताबाट ऊर्जा बचत नौदेखि १९ प्रतिशत पाइयो भने संयुक्त रुपमा कार्यान्वयन गर्दा १९-२५ प्रतिशतसम्म ऊर्जा बचत भएको पाइयो ।

सो एजेन्सीका अनुसार ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाका उपायले विश्वव्यापी तापमान वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियस तल सीमित गर्न आवश्यक कार्बन कटौतीको लगभग ९० प्रतिशतसम्म प्राप्त गर्न सक्छ। यसका लागि ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाका उपायको संयुक्त कार्यान्वयनले विश्वव्यापी कार्वन कटौती तथा जलवायु परिवर्तन न्यूनीकरणमा ठूलो भूमिका खेल्दछ । यसरी ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाका उपायको संयुक्त कार्यान्वयन गर्ने सम्भावना भएता पनि यसको तादम्यताको अवसर देश अनुसार फरक-फरक हुन्छ । देशअनुसार ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाको तादम्यतामा ऊर्जा माग संरचना, माग वृद्धिदर, जलवायुको अवस्था, स्थानीय स्रोतसाधनको उपलब्धतालगायतले फरक पर्न सक्दछ ।

निस्कर्षः

विश्वभरका धेरै देशले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको प्रवर्द्धन, विकास र विस्तार गर्ने सम्बन्धमा छुट्टाछुट्टै वा संयुक्त रुपमा उपयुक्त नीति, योजना, कार्यक्रम, परियोजना निर्माण गरेर अधिकार प्राप्त संस्थामार्फत सफलतापूर्वक आआफ्ना नागरिकहरुलाई सस्तो, दिगो, भरपर्दो तथा स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गराई सामाजिक न्यायसहितको आर्थिक विकास गर्न सफल भएका छन् ।

नेपालमा पनि हालैका वर्षहरुमा यी सबै पक्षको सिकाइबाट कानुनबाटै सबल संस्था स्थापना गरी सरोकारवालाको निकट समन्वय, सहकार्यमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताका सबल पक्षहरुको अवलम्बन गर्दै अगाडि बढ्ने प्रयास भइरहेको छ ।

नेपालमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन, विकास र विस्तार गरी वातावरण संरक्षण गर्ने उद्देश्यका साथ २०५३ सालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्थापना गरिएकोमा सन् २०१८ देखि मात्र ऊर्जा दक्षतामार्फत ऊर्जाको समुचित उपयोग, बचत तथा संरक्षण गर्दै ऊर्जाको पहुँचमा वृद्धि गरी दिगो विकासको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवद्र्धनको लागि राष्ट्रिय संस्था बनाइएको छ । यसले विश्वव्यापी रुपमा सफल रहेको ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाको संयुक्त कार्यान्वयन गर्ने प्रयास गरेको छ ।

तथापि, यी दुवै पक्षको अधिकार केन्द्रले कानुनी रुपमा अझै प्राप्त गर्न नसकेकाले दीर्घकालमा नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धता “सबैका लागि सस्तो, भरपर्दो, आधुनिक तथा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने” लक्ष्य प्राप्ति हुनेमा विश्वस्त हुने अवस्था देखिँदैन ।

संसद्मा विचाराधीन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१ ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतालाई कानूनी मान्यता दिएको छ । यो विधेयक पारित भएपछि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको संयोजनमा उपयुक्त नीति, योजना, कार्यक्रम तथा परियोजनामार्फत राष्ट्रिय-अन्तरराष्ट्रिय स्रोत-साधनको समुचित परिचालन गर्न थप सहज हुनेछ ।

विगतदेखि नै नेपाल सरकार र विभिन्न दातृ निकायहरुको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय प्रसारण प्रणाली नपुगेको स्थानहरुमा बसोबास गर्ने नागरिकलाई विकेन्द्रीकृत नवीकरणीय ऊर्जामार्फत केन्द्रले स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउँदै आइरहेको सन्दर्भमा सबै नागरिकलगायत व्यावसायिक, औद्योगिक, यातायात तथा कृषि क्षेत्रमा समेत आवश्यक सस्तो, दिगो र आधुनिक ऊर्जाको उपलब्धता सुनिश्चित गर्न ऊर्जा दक्षतालाई समेत संयोजन गरी राष्ट्रले कबोल गरेको राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता हासिल गर्दै दिगो ऊर्जा रुपान्तरण गर्नु आजको अपरिहार्य आवश्यकता हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ