arrow

स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्ने मन्त्री न्यौपानेको प्रतिवद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
bhagwati-naupane-bandipur.jpg

तनहुँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने बताएकी छन् ।

तनहुँको बन्दीपुर गाउँपालिकामा आयोजित भेटघाट कार्यक्रममा उनले मन्त्रालयमा कर्मचारी जगेडामा बस्ने अनि स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने प्रतिबद्धता जनाइन् ।

मन्त्री न्यौपानेले भनिन्, “स्थानीय तहमा निमित्त हटाउने अभियान सुरु भइसकेको छ । एक सय ७३ स्थानीय तह निमित्तको भरमा सञ्चालित भएका रहेछन् । त्यसलाई सुधार गरिनेछ । अन्यभन्दा तराईमा बढी समस्या देखिएको छ । निमित्तलाई शून्यमा झारिनेछ ।” 

भनसुनका आधारमा कर्मचारी सरुवा वा बढुवा नहुने बताउँदै उनले नीतिगत रूपमा यसलाई सुधार गर्दै लैजाने उल्लेख गरिन् ।

मन्त्रालयको काम सरुवा र बढुवामात्रै गर्ने हो कि भन्ने आभास आमजनतामा भइरहेको बताउँदै मन्त्री न्यौपानेले भनिन्, “म मन्त्रालयको नीतिगत सुधारमा अगाडि बढेको छु । यसका लागि प्रधानमन्त्रीले सहयोग गर्ने वचन दिइसक्नुभएको छ ।” 

सुशासन कायम गराउँदै पारदर्शी सेवा प्रवाहमा सबै कर्मचारी, स्थानीय, सरोकार भएका निकायलगायतको सहयोग अपरिहार्य रहेकामा उनले जोड दिइन् ।

मन्त्री न्यौपानेले एक सय स्थानीय तहमा समयमै बजेट नआएकाले तीनवटा सहसचिवको नेतृत्वमा टोली खटाइएको जनाउँदै सहजीकरण र समन्वय भइरहेको उल्लेख गरिन् ।

उनले भनिन्, “जनप्रतिनिधि र कर्मचारीको भागबण्डा नमिल्दा बजेट रोकिएको अवस्था रहेछ । त्यस्ता ठाउँमा बजेट ल्याउन सहजीकरण गरिएको छ । केही पालिकाले बजेट ल्याइसकेका छन्, केही पालिकाले समय तोकेका छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ