arrow

गर्भवतीलाई पोषण कार्यक्रम प्रभावकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
pregnant-garbhawoti.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो । 

नगरपालिकाले चालु आर्थिक वर्षमा दुई ४३ जना गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरेको छ । उक्त कार्यक्रमअन्तर्गत जनही रु पाँच हजारका दरले रु १२ लाख २५ हजार रकम वितरण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । 

उनले भने, “गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्य रहेको छ ।” 

स्वस्थ बच्चा जन्मन आमा निरोगी आवश्यक हुने गर्भवती चरणदेखि महिला कमजोर हुने हुँदा पोषिलो खानाको आवश्यकतापर्ने भएकाले पोषणका लागि रकम प्रदान गरिएको उनले बताए । उनका अनुसार आर्थिक विपन्नता भएको स्वास्थ्य जोखिम नहोस् भनेर कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गैरेले भने, “पोषण सहयोग कार्यक्रमले मातृ मृत्युदरमा न्यूनीकरण आएकाले कार्यक्रम प्रभावकारी बन्दै गएको छ, यसलाई निरन्तरता दिनेछौँ ।” 

नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिनामा) गर्भजाँच गरेको गर्भवतीलाई आठ महिनापछि रु पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको महिला, बालिका तथा समाजकल्याण शाखाकी अधिकृत राधा आचार्यले बताए । व्यास नगरपालिकामा स्थायी बसोबास गर्ने महिलाले मात्रै यस्तो सुविधा प्राप्त गर्नसक्ने प्रावधान रहेको उनले उल्लेख गरे ।

उनका अनुसार हालसम्म ५६ जनालाई अपाङ्गता र १२४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । चालु आवमा १७ वटा संस्था दर्ता गरिनुका साथै २३ वटाको नवीकरण गरिएको महिला, बालिका तथा समाज कल्याण शाखाले जनाएको छ । अपाङ्गता भएका १९० जना ‘ग’ वर्गलाई रु चार हजारका दरले रु सात लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ