काठमाडौँमा बालुवाको थाङ्कादेखि आधुनिक मिथिला कलासम्मको प्रदर्शनी जारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
545
Shares
काठमाडौँ। राजधानीको ठमेलस्थित 'द कला सलोन' मा हालै सुरु भएको 'द हिमालयन नाउ' नामक कला प्रदर्शनीमा नेपाली कलाका विविध आयामहरू प्रस्तुत गरिएको छ। यो प्रदर्शनीले परम्परागत थाङ्का र मिथिला कलादेखि लिएर समसामयिक कला र मूर्तिकलालाई एउटै मञ्चमा समेटेको छ।
कलाकार छेपाल दोर्जे शेर्पाले काठको फ्ल्याकमा रंगीन बालुवाको प्रयोग गरी बनाएको 'हरित तारा मण्डला' प्रदर्शनीको एक मुख्य आकर्षण बनेको छ। यो नौलो प्रविधिले थाङ्का कलालाई फरक ढंगले प्रस्तुत गरेको छ।
प्रदर्शनीका संयोजक उमेश श्रेष्ठका कलाकृतिहरूले धार्मिक विषयवस्तुलाई आधुनिक चेतनासँग जोडेका छन्। उनका 'द होली किस' र 'लिभिङ गणेश' जस्ता चित्रहरूले नेपाली कलालाई विश्वव्यापी पहिचान दिलाउने प्रयास गरेका छन्।
त्यसैगरी, वीरगञ्जकी कलाकार राखी कर्णले मिथिला कलालाई परम्परागत शैलीबाट माथि उठाएर 'कन्सेप्चुअल आर्ट' को रूपमा प्रस्तुत गरेकी छिन्। उनका कलाकृतिमा 'विष्णुलोक' र 'दश अवतार' जस्ता विषयवस्तुलाई नयाँ ढंगले देख्न सकिन्छ।
यस प्रदर्शनीमा शुभाद्री शुभाका मिथिला शैलीका चित्रहरू र कुमार थापाले स्टेनलेस स्टिलबाट बनाएका आधुनिक मूर्तिहरू पनि राखिएका छन्। विविध विधामा काम गरिरहेका कलाकारहरूलाई एकै ठाउँमा ल्याएर नेपाली कलाको पहिचान खोज्नु यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको संयोजक श्रेष्ठले बताए।