इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कारबाही हुँदैन: विभाग
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
753
Shares
काठमाडौं। यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा जरिवाना वा कारबाहीमा परिने भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ।
विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारबाहीमा पर्ने वा जेल जानुपर्ने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको प्रचार निराधार भएको जनाएको छ।
विभागले अहिले कुनै पनि प्रकारको दण्ड वा जरिवाना नगरिने स्पष्ट पार्दै सवारीधनीलाई आफूलाई पायक पर्ने यातायात कार्यालयमा गएर स्वेच्छाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न र डिजिटाइजेसन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।
विभागले इम्बोस्ड नम्बर प्लेट जडानलाई सहज बनाउन विभाग तथा प्रदेश कार्यालयहरूमा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको जानकारी दिएको छ।
इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाको सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अंग्रेजी लिपि प्रयोगमा कुनै संवैधानिक वा कानुनी त्रुटि नदेखिएको फैसला गरेको पनि विभागले स्पष्ट पारेको छ।