काठमाडौँ । अष्ट्रेलियाली सरकारले आर्थिक उत्पादनशीलता र स्वतन्त्र व्यापारलाई बढावा दिनका लागि पाँच सय भन्दा बढी ‘अतिरिक्त’ शुल्कहरू हटाउने निर्णय गरेको छ। यो निर्णय आगामी आर्थिक वर्ष १ जुलाई, २०२६ देखि लागू हुनेछ।
बिहीबार कोषाध्यक्ष जिम चाल्मर्स, व्यापार मन्त्री डोन फ्यारेल र उद्योग तथा नवप्रवर्तन मन्त्री टिम आयर्सले टायर, रक्सीका गिलास, र टेलिभिजनजस्ता वस्तुहरूमा लाग्ने साना शुल्कहरू हटाइने जानकारी दिए। यसले व्यवसायहरूलाई नियम पालनामा लाग्ने झन्झट र खर्च कम गर्नेछ।
कोषाध्यक्ष चाल्मर्सले यी अतिरिक्त शुल्कहरूले लाभभन्दा बढी क्षति पुर्याएको बताए। उदाहरणका लागि, टायरमा लाग्ने शुल्कबाट वार्षिक ८० हजार अष्ट्रेलियन डलर भन्दा कम राजस्व उठ्ने भए पनि, यो शुल्क हटाउँदा व्यवसायहरूले वर्षमा करिब ३ करोड २० लाख अष्ट्रेलियन डलर बचत गर्न सक्नेछन्।
व्यापार मन्त्री फ्यारेलले अष्ट्रेलिया सरकार यो निर्णयमार्फत विश्वलाई व्यापार अवरोध हटाउन गम्भीर रहेको सन्देश दिन चाहेको बताए। सरकारले यसअघि नै सन् २०२४ मा तरकारी, फ्रिज र रबरजस्ता वस्तुहरूमा लाग्ने ४५७ अतिरिक्त शुल्कहरू हटाइसकेको छ।
यी नयाँ शुल्क कटौतीका विषयमा डिसेम्बरसम्म थप छलफल हुनेछ र अन्तिम सूची मे २०२६ मा पेश गरिने आगामी संघीय बजेटमा सार्वजनिक गरिनेछ।