दमौली (तनहुँ)। मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको जामुने बजारमा कालोपत्रे गर्ने काम सुरु भएको छ। यो खण्डको कुल ३९ किलोमिटरमध्ये ३६.८ किलोमिटरमा कालोपत्रे भइसकेको छ र बाँकी खण्डमा काम धमाधम भइरहेको छ।
मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कुँवरका अनुसार, म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल र पोखरा विश्वविद्यालय वरपरको क्षेत्रमा कालोपत्रे गर्न बाँकी रहेको छ।
यो खण्डमा रहेका १२ वटा पुलमध्ये १० वटा र १०० वटा कल्भर्टमध्ये ९२ वटा निर्माण भइसकेका छन्। कुल ७ अर्ब ४० करोड रुपैयाँ लागतको यो परियोजना आगामी पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।