कपिलवस्तु । कपिलवस्तुका तीन पालिकाका ४८ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जसमा ३३ पुस्तकालय सञ्चालन हुने क्रममा छन् भने १५ पुस्तकालय स्थापनाको तयारीमा छ ।
रुम टू रिड र पिस नेपाल कपिलवस्तुले १८औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुरस्कालय सञ्चालन गर्ने घोषणा गरेको हो ।
कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका र मायाँदेवी गाउँपालिकाको समन्वय र सहकार्यमा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घोषणा गरेको ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ लाई मूर्तरुप दिनका लागि पुस्तकालय स्थापना गरिएको हो ।
बालबालिकामा पढ्ने संस्कृतिको विकास गर्न, बालबालिकाले उमेर, रुचि, र सिकाई शैली अनुसारका चित्र पुस्तकमा पहुँच सुनिश्चित गर्नका लागि पुस्तकालयलाई बालमैत्री ढंगले व्यवस्थापन गरिने भएको छ ।
पुस्तकालयमार्फत विशेषगरी न्यून आय भएका हजारौँ बालबालिकाको पढ्ने बानीको विकास र साक्षरताको स्तर सुधार हुने अपेक्षा छ ।
विश्वमैत्री आधारभूत विद्यालय दोहनी, आधारभूत विद्यालय पिपरहवाको पुस्तकालयको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले उद्घाटन गरे ।
यस्तै वडा नं ३ का अध्यक्ष प्रकाश गैरेले गौतम बुद्ध आधारभूत विद्यालयको पुस्तकालयको उद्घाटन गरे ।
कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष शिवकुमार पाण्डेय, वडा नं १२ का वडाध्यक्ष इनसान अलि धुनिँया र पालिकाका शिक्षा शाखा प्रमुख युवराज भुषाल सहभागी थिए ।
यस्तै मायाँदेवी गाउँपालिका वडा नं ३ का अध्यक्ष शैलेन्द्रकुमार यादवले जनता आधारभूत विद्यालय पुलिका र मदरसा रियाजुल उलुम अलसल्फिया पुस्ताकालय उद्घाटन गरेर पालिकाका अन्य विद्यालयको पुस्तकालय उद्घाटन गरे ।
यस्तै बुद्धभूमि नगरपालिका वडा नं ४ का अध्यक्ष सुशिलकुमार चौधरीले राष्ट्रिय माध्यमिक विद्यालय मौर्माको पुस्तकालय तथा वडा नं ५ मा वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।