arrow

धादिङ-मलेखु सडकखण्डको दारेगौँडाभिरमा जोखिम बढ्दै, यात्रुलाई सास्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
malekhu-dhunibesi-nagdhunga.jpg

मलेखु (धादिङ)। धादिङ-मलेखु सडकखण्ड अन्तर्गत पर्ने दारेगौँडाभिर बर्खायाम सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ। सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्गको यो खण्ड विगत २४ वर्षदेखि पहिरो र सडक भासिने समस्याबाट प्रभावित छ, तर पछिल्ला वर्षहरूमा यो जोखिम झनै बढेको छ।

स्थानीय बासिन्दा र सवारी चालकहरूका अनुसार, सडकको बीच भागमा ठूलो चिरा परेको छ र माथिबाट पहिरो खसिरहेका कारण सडक साँघुरो र जोखिमपूर्ण बनेको छ। आधा भागमा त मान्छे उभिनसक्ने अवस्था पनि छैन। ठूला सवारीसाधनहरू आधा टायर पहिरोमा झुन्ड्याएरै मुस्किलले वारपार गरिरहेका छन्।

चालक डम्बरबहादुर श्रेष्ठका अनुसार, पहिरोको बीचमा पुग्दा ज्यानै जोखिममा रहेको महसुस हुन्छ। लगभग एक सय मिटर लामो यो जोखिमपूर्ण खण्डमा सडकको तल्लोपट्टि थोपल खोलाले पनि निरन्तर कटान गरिरहेको छ।

गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजन कार्यालयले मर्मतको ठेक्का लगाए पनि भौगोलिक अध्ययन नगरी काम गर्दा समस्या झनै बढेको स्थानीयको गुनासो छ। स्थानीयहरूका अनुसार, खोला किनारदेखि नै बलियो पर्खाल लगाएर मात्र यसको दीर्घकालीन समाधान गर्न सकिन्छ। तर, मर्मतका नाममा सामान्य ग्याबियन जाली लगाउँदा त्यो पनि सडक सँगै भासिएको छ।

स्थानीयले जोखिम कम गर्नका लागि वैकल्पिक बाटोहरू (देउराली चौताराबाट इँटाभट्टा हुँदै तल्लो ज्यामिरे) मर्मत गरी प्रयोगमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। तर, यी कच्ची सडकहरू पनि हिलो र खाल्डाखुल्डीका कारण सबै सवारीसाधनका लागि सहज नभएकाले प्रयोगविहीन अवस्थामा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ