arrow

मनाङमा निर्वाचन सुरक्षामा विशेष ध्यान दिन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
manang-cdo.jpg

मनाङ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न उपनिर्वाचनको सुरक्षा तयारी र शान्ति सुरक्षामा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। उनले जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्मको निरीक्षणका क्रममा यस्तो निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा सीडीओ पौडेलले आसन्न मनाङ–१ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै निकायलाई दत्तचित्त भएर लाग्न आग्रह गरे। उनले निर्वाचनमा शान्ति कायम गर्न र मतदाताको मनोबल उच्च राख्नका लागि निरन्तर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए।

प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेल र सशस्त्र प्रहरी नायब उपरीक्षक ध्रुव रेग्मीले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र निर्वाचन सुरक्षा योजनाबारे सीडीओलाई विस्तृत जानकारी गराएका थिए।

सीडीओ पौडेलले निर्वाचन सुरक्षाका साथै अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आत्महत्या तथा लागूऔषध न्यूनीकरण, पर्यटक सुरक्षा र विकास निर्माण सहजीकरणमा पनि विशेष जोड दिनुपर्ने बताए। उनले प्रहरी र सशस्त्र प्रहरी दुवैको काम अनुशासित, व्यावसायिक र व्यवस्थित रहेको भन्दै प्रशंसा समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ