नेपाली सेनाद्वारा संयमित हुन अपिल, राष्ट्रिय सम्पत्तिको रक्षा गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
600
Shares
काठमाडौँ। नेपाली सेनाले हाल देशभर विकसित जेन-जी आन्दोलनको परिस्थितिलाई थप जटिल हुन नदिन सबै युवा तथा देशवासीलाई संयमित हुन र सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेको छ।
आज एक अपिल जारी गर्दै सेनाले देशको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ।
सेनाले भनेको छ, “नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध रही आएको छ।”
जेन-जी आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति सेनाले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूको चिर शान्तिको कामना गरेको छ। साथै, शोकमा परेका परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि आफू सधैँ प्रतिबद्ध रहने पनि उल्लेख गरेको छ।