arrow

यातायात सञ्चालन गर्न ट्रक महासंघको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
havy-truck.jpg

काठमाडौं। नेपाल ट्रक यातायात व्यवसायी महासंघले शान्तिपूर्ण संवाद र सहकार्यमार्फत वर्तमान समस्याको समाधान गरी ठप्प भएको यातायात सेवा सुचारु गर्न सरकार, राजनीतिक दल र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

हालैको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महासंघले मुलुकभर यातायात ठप्प हुँदा दैनिक जीवन प्रभावित बनेको बताएको छ। महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्ति समेत गम्भीर रूपमा प्रभावित भएको छ।”

यातायात सेवा बन्द हुँदा व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा संकट आएको र आम नागरिकले समेत असाधारण कठिनाइ भोग्नुपरेको महासंघले जनाएको छ।

महासंघले कानुनअनुसार कर तिर्ने र रोजगारी सिर्जना गर्ने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानूनी सुरक्षा दिनुपर्ने माग गरेको छ। आन्दोलनका कारण दैनिक नोक्सानी बेहोर्न बाध्य भएको यस क्षेत्रलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि महासंघले जोड दिएको छ।

अन्त्यमा, जेन-जी पुस्ताले उठाएका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्दै संविधानको रक्षा गर्न र सडक यातायात सञ्चालनमा ल्याएर नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा पनि महासंघले व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ