काठमाडौं। नेपाली सेनाले हालको संवेदनशील परिस्थितिमा विभिन्न माध्यमबाट आइरहेका भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सेनासम्बन्धी आधिकारिक धारणा र गतिविधिहरू प्रेस विज्ञप्ति, प्रेस नोट र आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत मात्र सार्वजनिक गर्ने गरेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ। तसर्थ, भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणमा नेपाली सेना आग्रह गर्दछ।”
सेनाले आफूसम्बन्धी सूचना प्राप्त गर्नका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय स्तरमा रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ।