arrow

सुशीलालाई मोदीले भने – नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
narandra-modi-india.jpg

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकामा सुशीला कार्कीलाई बधाई दिएका छन् । 

भारतको मणिपूरमा आयोजित एक सभामा प्रधानमन्त्री मोदीले एक सय ४० करोड भारतवासीको तर्फबाट सुशीला कार्कीलाई शुभकामना व्यक्त गरेको बताए ।

नेपालमा शान्ति, स्थिरता र समृद्धिका लागि प्रधानमन्त्री कार्कीले महत्वपूर्ण भूमिका खेल्ने मोदीको विश्वास छ । 

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला आउनु महिला सशक्तीकरणको निकै उत्कृष्ट उदाहरण भएको मोदीले बताए । 

मोदीले निकै विषम् र अस्थिर परिस्थितिका बाबजुद पनि लोकतान्त्रिक मूल्यको सर्वोपरि राख्न सफल भएकामा सबै नेपालीको प्रशंसा गरे ।

पछिल्लो दुई तीन दिनमा नेपालका युवा युवती सडकको सफाइ र रंगरोगनका काममा जुटेको आफूले देखेको भन्दै उनीहरुको सकारात्मक कार्य निकै प्रेरणादायक रहेको मोदीले बताए । 

साथै माेदीले हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी र घनिष्ठ मित्र भएकाे बताए । उनले नेपाल र भारत  साझा इतिहास, आस्थाद्वारा जोडिएकाे भन्दै सँगै मिलेर अगाडि बढिरहेकाे स्पष्ट पारे । 

यसो भने मोदीले–

"साथीहरू, आज मणिपुरको यो भूमिबाट म नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहासद्वारा जोडिएका छौं, आस्थाद्वारा जोडिएका छौं र सँगै मिलेर अगाडि बढिरहेका छौं। नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। वहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो। म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो। साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ जसमा  मानिसहरूले ध्यान दिएका छैनन्। पछिल्ला दुई-तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन्। मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ