प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, तीन विज्ञ मन्त्री नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
1.2k
Shares
काठमाडौँ। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले तीन जना विज्ञलाई मन्त्री पदमा नियुक्त गरेकी हुन्, जसको शपथ आज बिहान हुने तयारी छ।
नवनियुक्त मन्त्रीहरूमा अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्री, कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री, र रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयको जिम्मेवारी पाएका अर्याल तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध रिट दायर गरेपछि चर्चामा आएका थिए। उनी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकार पनि हुन्। जनहितका विभिन्न मुद्दामा कानुनी लडाइँ लडेका अर्याल बालेनको सिफारिसमा गृहमन्त्री बनेको चर्चा छ।
यता, अर्थमन्त्रीको जिम्मेवारी पाएका खनाल पनि निकै परिचित व्यक्तित्व हुन्। उनले अर्थसचिव, राजस्व सचिव हुँदै उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्ष भएर काम गरिसकेका छन्।
त्यसैगरी, ऊर्जा मन्त्रालय सम्हाल्न आइपुगेका घिसिङले दुई कार्यकाल नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक भएर काम गरेका थिए। नेपाललाई लोडसेडिङबाट मुक्त गराएर ‘उज्यालो नेपाल’ का प्रणेताको रूपमा उनी आम जनतामाझ लोकप्रिय छन्। जेन-जीका केही समूहले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनुपर्ने माग पनि गरेका थिए।
प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिपरिषद् ११ सदस्यीय मात्र बनाउने तयारी गरेको स्रोतले जनाएको छ। यसैबीच, उनले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्, जसले नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्ने सौभाग्य पाएकी छन्।