arrow

इटालीको ऋण रेटिङ ‘बीबीबी’ बाट ‘बीबीबी प्लस’ मा उक्लियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
italy-flag.jpg

काठमाडाैँ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्था ‘फिच’ ले देशको ऋण रेटिङ उक्लाएको घटनालाई आफ्नो सरकारको आर्थिक अनुशासन र कडाइयुक्त नीति सफल भएको सङ्केतका रूपमा स्वागत गरेकी छन् ।

‘फिच’ रेटिङ्स एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले देश, कम्पनी र वित्तीय निकायहरूको आर्थिक स्थिरता र ऋण तिर्ने क्षमताको मूल्याङ्कन गर्छ । यसले दिने मूल्याङ्कनलाई क्रेडिट रेटिङ भनिन्छ। विश्वमा फिच रेटिङ्सलाई मूडीज र स्ट्यान्डर्ड एन्ड पूअर्ससँगै सबैभन्दा ठूलो र प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सीमध्ये एक मानिन्छ ।

फिचले इटालीको ऋण रेटिङलाई ‘बीबीबी’ बाट ‘बीबीबी प्लस’ मा उकास्दै आगामी दिनका लागि स्थिर रहेको मूल्याङ्कन गरेको छ । संस्थाले यस निर्णयमा इटालीको आर्थिक मार्गप्रतिको विश्वसनीयता र सरकारको प्रतिबद्धतालाई महत्त्वपूर्ण रूपमा लिएको जनाएको छ ।

प्रधानमन्त्री मेलोनीले भनिन्, “फिचबाट प्राप्त यो मान्यता हाम्रो सरकारले अघि सारेको आर्थिक नीति सही दिशामा रहेको पुष्टि हो ।”

यसअघि, इटालीले आफ्नो सार्वजनिक खर्च घाटा ७दशमलव२ प्रतिशतबाट घटाएर ३दशमलव४ प्रतिशतमा ल्याउन सफल भएको तथ्याङ्कले पनि आर्थिक अनुशासनमा प्रगति देखाएको छ ।

फिचले राजनीतिक स्थिरता र आर्थिक नीतिमा विश्वसनीयता पनि यो सुधारको मुख्य कारण भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री मेलोनीले थप भनिन्, “राजनीतिक स्थिरता, विश्वासिलो नीति र रोजगारी सिर्जना गर्ने क्षेत्रलाई समर्थन गर्दा राम्रो नतिजा आउनु स्वाभाविक हो । यी उपलब्धि हामीले मात्र होइन, अन्तर्राष्ट्रिय बजारले पनि विश्वास गरेको छ ।”

इटालीका अर्थमन्त्री जियानकार्लो जिओर्जेटीले पनि ‘हामीले देशलाई सही बाटोमा डोर्याउन सफल भएका छौं’ भनी आफूहरूको प्रतिबद्धता दोहोर्याए । तर, आर्थिक वृद्धिदर सन् २०२३ र २०२४ मा अपेक्षाअनुसार पुगेको छैन र ०दशमलव७ प्रतिशतमा सीमित रहेको तथ्याङ्क छ ।

त्यसैगरी, इटालीको ऋण भार उच्च छ, जसले दीर्घकालीन आर्थिक विकासमा चुनौती कायम राखेको छ । यद्यपि, सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ