सरकार निर्वाचनको तयारीमा लागिसक्यो –प्रधानमन्त्री कार्की
जेन–जीका सकेसम्मका माग सम्बोधन गरिने विश्वास, विध्वंशको छानबिन शुरू भइसक्यो
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
1.1k
Shares
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकार फागुन २१ गते हुने निर्वाचनको तयारीमा लागेको बताएकी छिन् । पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको तयारीमा लागिसकेकाले दलहरुलाई पनि तयारी थाल्न आग्रह गरेकी हुन् ।
उनले जेन–जीहरुका सबै माग पूरा गर्न नसके पनि सकेसम्म सम्बोधन गरिने बताइन् । उनले आन्दोलनको क्रममा विद्यार्थी र युवाहरुको मृत्यु हुनेगरी भएको घटनाको दोषीलाई कारबाही गर्ने बताएकी छन् ।
त्यस्तै विश्वंशको छानबिन भइसकेकेकोसमेत बताइन् । कार्कीले नेताहरूका घरमा भेटिएका अनधिकृत पैसाका सम्बन्धमासमेत छानबिन भइरहेको जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीले नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताइन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो ।
सरकार गठनपछि प्रधानमन्त्री कार्कीले बिहीबार साँझ सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेकी हुन् । उनको सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको थियो । तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।
उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिइन् । उनले उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन् ।