काठमाडौं। सरकारले दशैँ, तिहार लगायतका चाडपर्वहरूमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ। दशैँको मौका पारेर भाडा दोब्बर पारिसकेपछि सरकारले भाडा नबढाउन आग्रह गरेको हो ।
काठमाडौँबाट भैरहवा जाँदै गरेका एक यात्रुले एक दिनकै अन्तरमा भाडा दोब्बर पारिएको बताए । सरकारले आँखामा छारो हाल्ने शैलीमा भाडा नबढाउन गरेको आग्रहले जनतालाई फाइदा नगर्ने भन्दै उनले आक्रोश पोखे ।
नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन्। उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखी सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुहरूलाई राहत दिन सम्बद्ध सबै पक्षलाई भनिएको जानकारी दिए।
सूचना अधिकारी भुलले हवाई सेवा कम्पनीहरूलाई बोलाएर कम्तीमा अधिकतम भाडादरको टिकट नबेच्न र त्यसभन्दा एक/दुई क्लास तल्लो भाडादर मा टिकट बेचिदिन आग्रह गरिएको बताएका छन्।
उनले उदाहरण दिँदै भने, “बुद्ध एयर लगायतका वायुसेवा कम्पनीहरूले आन्तरिक रूपमा धनगढीको टिकट १२ हजारभन्दा माथि नबेच्ने भनेर तयारी गरेका छन्। स्वभाविक रूपमा यात्रुहरूले एकैचोटी यात्रा गर्दा माग बढी भएर तल्लो भाडादरको टिकटभन्दा माथिल्लो भाडादरको टिकट बढी बिक्री भएको छ, तर पनि हामीले अधिकतम भाडादरलाई नियन्त्रण गर्न भनेका छौं।”
प्राधिकरणले चाडपर्वमा हवाई यात्रुहरूको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको पनि व्यवस्था गरेको जनाएको छ।
नेपालमा सामान्य अवस्थामा दैनिक १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेको तथ्याङ्क छ। तर, दशैँ–तिहार जस्ता चाडपर्वमा यो सङ्ख्या बढेर दैनिक १८ हजारसम्म पुग्ने भएकाले यात्रुको चाप व्यवस्थापनका लागि अतिरिक्त उडानको प्रबन्ध गरिएको सूचना अधिकारी भुलले स्पष्ट पारे।