arrow

स्मृतिमा बासबहादुर र धुर्कोटको सरायँ नाच

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८२ असोज १५ बुधबार
rajendra-panthi-82-6-15.jpg

वाल्मीकि रामायणको पुनर्कथन संस्करणहरूमा एउटा प्रसिद्ध श्लोक छ। यसलाई राष्ट्रिय आदर्शको श्लोक पनि मानिन्छ । त्यो श्लोक हो-जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।

यस श्लोकका दुई रुप रहेका छन् ।

पहिलो रुपमा भारद्वाज ऋषिले भगवान रामलाई सम्बोधन गर्दै भनेको सन्दर्भ रहेको छ । जुन यसप्रकार छ-

मित्राणि धन धान्यानी प्रजाना सम्भतानिव।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।।

माथिको श्लोक अनुसार मित्र, धन्य,धान्य आदि संसारमा उच्च सम्मान गरिन्छ तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा माथि छ । त्यस्तै दोस्रो रुपमा रामले लक्ष्मणलाई दिएको प्रति उत्तरको सन्दर्भ रहेको छ-

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।।

माथिको श्लोक अनुसार हे, लक्ष्मण!यो लङ्का सुनले बनेको भएपनि मलाई यसमा कुनै रुचि छैन किनकि माता र मातृभूमि स्वर्गभन्दा पनि महान छन् ।

हो, यो माथिको श्लोकमा बताइए अनुसार माता र मातृभूमि स्वर्गभन्दा माथि र महान हुन्छन्। मानिस जन्मभूमि छोडेर पृथ्वीको जुनसुकै ठाउँमा पुगोस्, चन्द्रमा वा मङ्गल मै किन नपुगोस् वा जस्तोसुकै उपलब्धि प्राप्त गरोस् उसलाई सबैभन्दा प्यारो ठाउँ जन्मभूमि नै हुने रहेछ । जन्मभूमिजस्तो सुन्दर र स्वर्ग कहिँ देख्नै सकिँदैन ।

यस वर्षको तीजको सन्दर्भमा आदरणीय मावलीकाका गोविन्द घिमिरेले निमन्त्रणा गर्नु भएको थियो । काकाको घरमा दिनभर धुमधाम नाचगानसहित रमाइलो गरियो । काकाले बेलुका फर्कने बेलामा आफूसँग बासबहादुर जीसीको स्मरण सङ्ग्रह रहेको जानकारी गराउनु भयो । 

मैले कहाँको र को नभनी ल पढूँ नि भनेर घरमा ल्याएँ।बासबहादुरभन्दा बित्तिकै मेरो मानसपटलमा बारम्बार सुनिरहेको एउटा सामाजिक व्यक्तित्त्वको चित्र प्रतिविम्बित भैहाल्यो अनि धुर्कोटको कोटमा हुने दशैको पूर्णिमा दिन हुने सरायँ नाचको याद आयो।बासबहादुरका बारेमा धेरै पटक सुनेँ र उनलाई  देखेँ पनि।तर पछिल्लो पटक कुन मितिमा देखेँ भनेर ठ्याक्कै स्मरण गर्न सक्दिनँ ।

बासबहादुरका बारेमा मलाई मधुर चित्र आउँछ।नाकको छेउमा रहेको कालो कोठी, दौरा, सुरुवाल अनि कोटको पहिरन, ठूलो मुख, चौडा निधार, गहुँगोरो एवम् अग्लो र मोटो शरीर, घाटीमा प्रायःगलबन्दी नै बासबहादुरको शारीरिक आवरणको चित्र हो । 

हाम्रै घर गैराखर्क हो वा मावली घर लुङ्खर्क वा तम्घासतिर कता हो उनका कुरा मैले धेरै पटक सुन्ने मौका पाएको छु । जेहोस् उनको झिसमिसे चित्र मेरो मानसपटलमा चित्रित छ । उनका बारेमा धेरै कुराहरू यस स्मरणात्मक कृतिबाट पढ्न पाएँ । यस कृतिले मात्र बासबहादुरको जीवनी र उनको सामाजिक देन मात्र  नभएर धुर्कोटको ऐतिहासिक, सामाजिक, भौगोलिक, राजनीतिक र शैक्षिक पाटाहरू जान्न पाइयो । बासबहादुरकालीन समयमा भए गरेका विभिन्न घटनाहरू पुनर्ताजगी भए ।

खिमकुमारी घर्ती क्षेत्रीद्वारा २०८० सालमा बासबहादुरको १५ औ पुण्यतिथि तथा शताब्दी जन्मजयन्तीको अवसर पारेर प्रकाशित गरिएको ३७६ पृष्ठमा संरचित यस पुस्तकमा ६७ जना व्यक्तिहरूका निकै महत्त्वपूर्ण स्मरणीय लेखहरू रहेका छन् । चिरञ्जीवी भण्डारी, जयदेव गौतम, प्राडा दुर्गाप्रसाद अर्याल, युवकध्वज जिसी, लीलबहादुर केसी, विष्णुबहादुर जी.सी,विष्णु प्रसाद घिमिरे,ईश्वरी प्रसाद घिमिरे,सूर्य बहादुर थापा,सूर्य बहादुर सेन,हुकुम थापा,ऋषिराम घिमिरे आदिका स्मरणहरू सङ्गृहीत छन्।पुस्तकको अन्त्यतिर बासबहादुरको वंशावली र केही पारिवारिक तस्बिरहरू पनि समेटिएका छन्। पुस्तकको दोस्रो खण्डमा रमेश घिमिरेले धुर्कोट राज्य र समकालीन इतिहासको कथा भनेर ६१ पृष्ठको ऐतिहासिक अनुसन्धानात्मक लामो आलेख लेखेका छन्।रमेश घिमिरेको यस खोजमूलक लेखले यो कृति थप महत्त्वपूर्ण एक संग्रहणीय  ऐतिहासिक पाठ्यसामग्री बनेको छ।

बासबहादुर जी.सी.गुल्मीको एक ऐतिहासिक गाउँ धुर्कोटका प्रसिद्ध समाजसेवी हुन्।ऐतिहासिक धुर्कोट कोटको प्राचीन संस्कृति र सभ्यता संरक्षण,गाउँमा विद्यालयहरूको स्थापना,सामुदायिक खानेपानी र वनको संरक्षण,बाटोघाटो र पुलपुलेसा निर्माण अनि गाउँलेहरूको दु:खसुखका साथीका रुपमा बासबहादुरको महत्त्वपूर्ण योगदान रहेको थियोे।बासबहादुर जन्म १९८० असौज ४ गते पिता ऐमानसिंह जी.सी र माता पूर्णकला जी.सीको प्रथम पुत्रका रुपमा धुर्कोट रजस्थलमा भएको थियो । बासबहादुरका तीन सन्तानपछि पहिली श्रीमतीको कलिलै उमेरमा असामयिक मृत्यु भएको थियो । त्यसपछि उनले दोस्रो विवाह गरेका थिए ।अहिले उनका एक श्रीमती, तीन छोराहरू र दुई छोरीहरू छन्।बासबहादुर २०५४ सालदेखि बसाइँसराइ गरी भक्तपुरमा  बस्दै आएका थिए । उनको २०६५ साल श्रावण ३ मा मृत्यु भएको थियो ।

बासबहादुरको सामाजिक र राजनीतिक योगदानलाई हेर्दा उनी २०३४ सालदेखि २०५४ सालसम्म धुर्कोटकोटको अध्यक्ष भई नेतृत्व सम्हालेका थिए।उनी २०३७ मा जिल्ला विकास समिति गुल्मीको सदस्यमा निर्वाचित भएका थिए।२०४८ सालमा नेपाली कांग्रेस धुर्कोट रजस्थल गाउँ कार्यसमितिका सभापति भई जिम्मेवारी सम्हालेका थिए।

बासबहादुर जी.सी स्मरण सङ्गालो पढिरहँदा माओवादी जनयुद्धका नाममा बासबहादुरले भोग्नु परेको अत्यन्तै अमानवीय,पीडादायी र दर्दनाक घटनाले मन छोयो।२०५९ मंसिर १९ गते ८ दशक पार गरेका बृद्धदम्पतिले ठूलो पाशविक पीडादायी घटना भोग्नु परेकोको रहेछ।सायद यो घटना मैले पहिले पनि सुनेको थिएँ होला,तर अहिले बिर्सेको रहेछु।आज गाउँ रित्तिदै जानुको एउटा प्रमुख कारणमध्ये माओवादी जनयुद्ध नामको सशस्त्र युद्ध हो भन्नलाई हिच्किचाउनु पर्दैन । माओवादी सशस्त्र कालमा गाउँका प्रायःनिम्न मध्यमवर्ग वा सोभन्दा माथिल्लो वर्गलाई शोषक,सामन्त र फटाहाको दाग लगाएर जनकार्बाही गरिन्थ्यो। माओवादी भन्दा भिन्न दलमा आस्था राख्नेलाई वर्गशत्रु भनिन्थ्यो। बासबहादुरलाई नेपाली कांग्रेसमा आस्था राखेको र छोरो नेपाली सेनामा जागिर खाएको भन्ने लाच्छना लगाई गाउँबाट धपाइएको रहेछ । 

बासबहादुरलाई त्यसबेला जनकार्बाहीका नाममा मध्यरातमा करिब २०० जतिका माओवादी हुलले एकसरो कपडामा लगाएका बुढाबुढीलाई बन्दुकका कुन्धाले हिर्काउँदै घरभित्रका भाँडाकुँडा,लत्ताकपडा,खाद्यान्न आदि एकै निमेषभरमा रित्याइदिएका रहेछन्।अझ त्यसैमा पनि गोठमा बाँधेको गर्भवती भैँसीलाई समेत काटेर खाएको घटनाले त आङसिरिङ नै हुन्छ । गाउँका प्रतिष्ठित समाजसेवी भनेर कहलिएका र बाबुबाजेदेखि  बस्दै आएका, आफ्नो जन्मभूमि, गाउँ, ठाउँ, समाज, चौतारो, विद्यालय, वन, कोटका आत्मीय अङ्ग बनेका बासबहादुरलाई जनकार्बाहीका नाममा जबर्जस्त गाउँ छोडेर हिड्नुपर्दा कति धेरै पीडा भए होला, उनले कसरी मन थाम्न सके होलान्  ?

मान्छेले एकछिन बसेको चौतारो त बिर्सन सक्दैन भने आफ्नो सम्पूर्ण जीवन गुजारेको घर र आफ्नो श्रीसम्पत्ति च्याट्टै छोड्नु पर्दा कति धेरै पीडा भए होला।अब यसको उत्तर उनीबाट पाउन सकिँदैन तर पीडाको मात्रा पक्कै पनि थोरै र सह्य थिएन भनेर सहजै अनुमान गर्न सकिन्छ।माओवादीले बासबहादुरलाई गाउँ निकाला गर्दा उनीमात्र फर्किएनन् कि आज उनका छोरानातिहरूसमेत गाउँमा फर्किएनन्।बासबहादुरका घरहरू इतिहासमा मात्र सीमित हुन पुगेका छन्।नेपालमा माओवादी जनयुद्धका कारण यस्ता धेरै बासबहादुरका घरहरू रित्तिएका छन् र छोडिएका छन्।

बासबहादुर अहिले यो धर्तीमा छैनन् तर उनको कृतित्व भने बाँचिरहेको छ।बासबहादुरका छोराहरू डा.विष्णु बहादुर जी.सी.,सहायक रथी कृष्ण बहादुर जी.सी र दानबहादुर जी.सीले स्मरणात्मक कृति प्रकाशन गरेर पछिल्लो पुस्तालाई आफ्ना बुवाको ऐतिहासिक योगदानका विविध पक्षलाई सधैंभरि जीवित बनाइरहने एउटा महत्त्वपूर्ण काम गरेका छन् । यस स्मरणात्मक कृतिमा नेपाली समाजमा विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तित्वहरूबाट बासबहादुरका जीवनका विविध पाटाका बारेमा चर्चा,गुणगान र प्रशंसा गरिएको छ।यसबाट बासबहादुरका विविध पाटाहरूका साथै गुल्मीको धुर्कोटको ऐतिहासिक पक्षलाई आजको पुस्ताले जान्ने र इतिहास पढ्ने मौका पाउने छन्। यो कृति सामाजिक,राजनीतिक र ऐतिहासिक दृष्टिकोणले समेत उत्कृष्ट र सङग्रहणीय छ।

हामीले वर्तमानलाई भोग गर्दा इतिहासलाई बिर्सनु हुँदैन।इतिहास बिना वर्तमान हुन सक्दैन।एउटा सानो पिलपिले दीपले अन्धकारलाई हटाएको हुन्छ।एउटा सानो बीजले विशाल वृक्षको आकार ग्रहण गरेको हुन्छ। सुन्दर फूल फुलाउन सानो बीजको महत्त्वपूर्ण योगदान हुन्छ।यदि बीजले नै पनि जमिनमुनिदेखि लिएर विशाल वृक्षको आकार ग्रहण नगरुन्जेल सङ्घर्ष नै नगर्ने हो भने हाँगा,फल,फूल लाग्न सक्दैनन्।आजको धुर्कोट रजस्थलमा शिक्षित समाज निर्माण भएको छ।धुर्कोटमै जन्मेर,हुर्केर अनि पढेर मानिसहरू देशविदेश फैलिएका छन्,त्यसमा बासबहादुरको कहिँ नै कतै योगदान रहेको छ। समाजमा कुनैपनि कुराको प्राप्तिको लागि प्रेरक तत्त्व महत्त्वपूर्ण हुन्छ।बासबहादुरको प्रेरणा,त्याग र समर्पणले आजको नयाँ र आधुनिक समाज निर्माण भएको हो।

आज हाम्रो सामु बासबहादुर सशरीर छैनन् तर उनका योगदान रहेका इन्दिरा मावि,सामुदायिक वन, धुर्कोटको कोट लगायतका भौतिक पूर्वाधार र जीवनदर्शन भने बाँचिरहेका छन्।उनको देह अन्त्य भएपनि उनले देखाएका बाटा र कृतित्त्वहरू भने बाँचिरहेका छन्।हरेक पुस्ताले इतिहासलाई टेकेर वर्तमानलाई अगाडि बढाउनु उनीहरूको कर्तव्य र दायित्व हो।इतिहासलाई बिर्सनु भनेको आफ्नो अस्तित्व र पृष्ठभूमि नै बिर्सनु हो।बासबहादुरको आदर्श, जीवनदर्शन,समाजसेवालाई सम्मान गर्नुपर्छ र सधैभरि सम्झनुपर्छ।

दीपले आफू जलेर अरुलाई उज्यालो दिइरहेको हुन्छ । व्यक्तिले निस्वार्थ त्याग नगरेसम्म सामाजिक सेवा हुन सक्दैन।व्यक्तिगत स्वार्थमा समाजसेवा हुनै सक्दैन।अहिलेको पिढिँले बासबहादुरको जीवनीलाई सुनेर वा पढेर जान्नु पर्ने महत्त्वपूर्ण  कुरा भनेको सामाजिक नेतृत्व कसरी गर्ने र सामाजिक सेवा कसरी गर्ने भन्ने नै हो।मानिसले चाह्यो भने आफूले औपचारिक शिक्षा प्राप्त नगरेपनि समाजको शिक्षा,स्वास्थ्य,खानेपानी,बाटोघाटो,संस्कृति संरक्षणलाई योगदान दिन सकिन्छ भन्ने कुरा बासबहादुरको जीवनी र दर्शनबाट थाहा पाउन सकिन्छ।

धरातल बिना आकाश हुँदैन अनि जराबिना रुख हुँदैन।आज गुल्मीको धुर्कोट एउटा केन्द्रको रुपमा विकास भएको छ।विद्यालयहरू,स्वास्थचौकी,कोटको पुनःनिर्माण र संरक्षण,खानेपानी,बाटोघाटो जस्ता पूर्वाधारहरू सम्पन्न भएका छन् तिनको पृष्ठभूमि वा तिनैमा पनि कहिँ नै कतै बासबहादुरको भूमिका र योगदान  रहेको छ।धुर्कोटको भूगोल,समाज,शिक्षा,संस्कृति र इतिहासको चर्चा गर्दा बासबहादुर एउटा नबिर्सने नाम हो र बासबहादुर नमेटिने इतिहास हुन्।

धुर्कोटको परिचय

धुर्कोट भनेको गुल्मी जिल्लाको पश्चिममा पर्ने एक ऐतिहासिक ठाउँ हो।यो अहिलेको धुर्कोट गाउँपालिका अन्तर्गत वार्ड न. ६ अन्तर्गत रजस्थलमा पर्दछ।घरको धुरीको जस्तो आकार भएको डाँडामाथि र अग्लो पहाडी जमिनमा कोट/कोत/केन्द्र रहेको हुनाले धुरीको कोट भन्दाभन्दै कालान्तरमा धुर्कोट भनिन थालिएको हो भनिन्छ।

नेपालको चौबिसे राज्यहरूमध्येको एउटा राज्यको नाम धुर्कोट हो।अहिले यही ऐतिहासिक राज्य धुर्कोटको नाममा धुर्कोट गाउँपालिकाको नामकरण गरिएको हो।धुर्कोट गाउँपालिका भित्र साविकका रजस्थल,वस्तु,जैसिथोक,नयाँ गाउँ,पिपलधारा,हाडहाडे,वाग्ला गाविसहरू पर्दछन्।अहिलेको मदाने गाउँपालिका अन्तर्गत वार्ड न.७ भनभने पनि पहिले यही धुर्कोट राज्य अन्तर्गत रहेको हुनाले अहिले पनि भनभनेलाई चिनारी गराउँदा धुर्कोट भनभने भन्ने गरिन्छ।

धुर्कोट राज्यको स्थापना विस.१४६५ राजा खड्गराज मल्लले स्थापना गरेका हुन् । यो राज्य ३७८ वर्षसम्म एउटै वंशबाट  चल्यो।अन्तिम राजा भुपेन्द्र मल्लले १८४३ मा आश्विन ६ गते नेपाल एकीकरण गर्दै आएको बहादुर शाहको शक्तिशाली फौजलाई छोडिदिएपछि यो राज्यको अन्त्य भएको थियो ।

तत्कालीन चौबिसे राज्य धुर्कोटमा  चौध मौजा र सातसय घरधुरी थिए भनिन्छ।पछि जनसंख्या विस्तार हुँदै जाँदा पन्ध्रसय घर धुरी थिए भनिन्छ।पछिल्लो राजनीतिक चरणमा आउँदा नेपालको संविधान २०७२ को धारा २९५ उपधारा ३ बमोजिम धुर्कोट गाउँपालिकाको क्षेत्रफल ८६.३२ वर्ग कि.मि रहेको छ।यस गाउँपालिकाको पूर्वमा रेसुङ्गा नगरपालिका,पश्चिममा मदाने गाउँपालिका,उत्तरमा मालिका र ईस्मा गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्ला रहेका छन्।अहिले धुर्कोट गाउँपालिकाको केन्द्र बर्बोट भन्ने ठाउँमा छ।

सरायँ नाच

कुनैबेला धुर्कोट,सरायँ नाच र बासबहादुर एकअर्काका पर्यायका रुपमा चिनिन्थे।बासबहादुरको नाम सम्झदै गर्दा सँगसगै आउने एउटा महत्त्वपूर्ण सन्दर्भ भनेको दशैको पूर्णिमा दिन धुर्कोटको कोटमा हुने सरायँ नाच हो । धुर्कोटको कोटको ऐतिहासिक महत्त्वलाई बचाउन,कोटको भौतिक पूर्वाधार निर्माण र सम्पदा र संस्कृति बचाउन बासबहादुरको योगदान रहेको छ।पहिलेपहिले धुर्कोट राम हेर्न जाने भनिन्थ्यो । वास्तवमा मान्छेको भिडभाड देख्दा रामै नै हुन्थ्यो। टाढाटाढादेखि मानिसहरू सरायँ हेर्न आउँथे।पहिलेको तुलनामामा मानिसहरूको उपस्थिति अहिले भने कमै देखिन्छ । अहिले गाउँको जनसंख्या घटेको कारणले पनि त्यति साह्रै भिडभाड हुँदैन।

सरायँलाई सराएँ वा वाख्खै पनि भन्ने गरिन्छ । यो नाच हिन्दुहरूको महान पर्व विजयादशमीको अवसरमा मध्य नेपालका विशेषगरी गुल्मी,अर्घाखाँची र प्युठान लगायतका कतिपय जिल्लाहरूमा दशैको टीकाको दिनदेखि पूर्णिमासम्म विभिन्न कोट र मन्दिरहरूमा पशुको बलिदिएपछि रगत लागेको खड्ग नचाउँदै नाच्ने र गाउने गरिन्छ।यसमा खासगरी युद्ध अभिनय गरिन्छ।

गीतहरू वीररसप्रधान हुन्छन् । सरायँमा गीत,नृत्य र खेल तीनवटै हुन्छन्।मानिसहरू मन्दिर वा कोटमा जम्मा भई विभिन्न घेरा बनाई नौमती वा पञ्चेबाजा बजाएर खुकुरी, तरवार, खुँडा, ढाल, चंवर नचाई वीररसपूर्ण गीत गाएर मनोरञ्जनात्मक नृत्य गर्छन्। यसमा ठाउँ अनुसार गीत गाउने र नाच्ने प्रचलन फरक फरक छ।

कतैले एउटाले भट्टाउने र अरुले वाख्खै अथवा हो भन्ने चलन छ भने कतै दुईजनाले एकापसमा हात जुधाएर गीत गाउँदै वाख्खै भन्ने प्रचलन रहेको छ।सरायँ नाचको प्रारम्भका सन्दर्भमा विभिन्न धार्मिक र ऐतिहासिक जनश्रुतिहरू पाइन्छन्।अहिले यो नाच दशैको अवसरमा बुटवल,काठमाडौँ हुँदै विदेशतिर पनि विस्तार भएको छ। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ