काठमाडौँ । महिला विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई सहजै हराएको छ । आइतबार राति श्रीलंकाको कोलम्बोमा भएको लिग चरणको खेलमा भारतले पाकिस्तानलाई ८८ रनको फराकिलो अन्तरले हराएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धाीरत ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनायो ।
हर्लिन देओलले ४६ तथा रिचा घोसले २० बलमा अविजित रहँदै ३५ रन बनाएको इनिङ्समा डियाना बैगले ४ विकेट लिइन् ।
जवाफमा पाकिस्तान ४३ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटियो । सिद्रा अमिनले सर्वाधिक ८१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा प्लेयर अफ द म्याच क्रान्ति गडले २० रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै दिप्ती शर्माले ३ तथा स्नेह रानाले २ विकेट लिइन् ।
यो जितले भारत आठ टिम सहभागी विश्वकपमा २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
२ खेलबाट ३ अंकसहित अष्ट्रेलिया दोस्रो स्थानमा छ भने पाकिस्तान २ खेलबाट अंकविहीन छ ।