जापानी बिहे गरेकी सुनिता परिवारलाई नेपाली रीतिरिवाजमा रम्न सिकाउँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
2.3k
Shares
काठमाडौँ । नेपालमा आफ्नो संस्कृति बचाउने भन्दा पनि कसरी हुन्छ मास्ने प्रवृत्ति बढिरहेको छ । हाम्रा धर्म, संस्कृति हाम्रा पहिचान हुन् । यति हुँदा हुँदै कसैको लहैहलमा लागेर त्यसलाई नअँगाल्ने प्रवृत्ति छ ।
नेपालबाट विदेश गएका नेपालीहरू भने त्यही संस्कृति र चाडपर्वलाई जीवन्त राख्न झनै लागिपरेका छन् । त्यसमध्येकी एक हुन् सुनिता सिलवाल ।
उच्च शिक्षा अध्ययनको सिलसिलामा जापान गएकी उनले जापानीसँगै लगनगाँठो कसेर वैवाहिक जीवनलाई हाँसीखुशी अगाडि बढाइरहेकी छिन् ।
त्यतिमात्र होइन जापानी परिवारलाई नेपालमा मनाइने चाडपर्वका बारेमा जानकारीमात्र दिएकी छैनन् अँगाल्नसमेत सफल भएकी छिन् ।
यसपालिको बडादशैँ पनि आमसञ्चारकी विद्यार्थी रहिसकेकी इन्जिनियर सिलवालले आफ्नो परिवारमा मनाएकी छिन् । उनले नेपाली र जापानीका चाडपर्वहरू उस्तै भए पनि मनाउने तरिका फरक भएको बताइन् ।
आफ्ना बारेमा यसो भन्छिन् सुनिता
म विद्यार्थी भिसामा जापान आएँ । यहाँ आएर दुई वर्ष जापानिज भाषा पढेँ । म बसेको अपार्टमेन्ट र श्रीमानको घर नजिकै थियो । हाम्रो घरको फोहर जम्मा गर्ने ठाउँ पनि एउटै भएकाले फोहर फाल्न जाँदा र क्याम्पस आउँदा जाँदा आमासँग प्रायः भेट हुन्थ्यो अनि साधारण बोलचाल पनि हुन्थ्यो । पछि मेरो एउटा जापानिज साथीले एक जना आमाको घरमा विशेष भेटघाट कार्यक्रम छ जाउँ भनिन् । अनि म पनि गएँ । मेरी सासुआमा पनि त्यहीँ हुनुहुँदोरहेछ । एकैछिन अचम्म पनि लाग्यो । त्यो घर मेरो फूपूको घर रहेछ भन्ने कुरा खाना खाने क्रममा थाहा पाएँ ।
त्यस क्रममा फूपूले सबैको अगाडि मेरो भदासँग विवाह गरिदिन पर्छ कि के हो भन्नुभयो । यो कुरामा सासुआमाले हाँसेर ‘हो नि !’ भन्नुभयो । तर मलाई भने के हो के हो भएको थियो । यही कुरालाई लिएर पछि साथीहरूले क्याम्पसमा पनि जिस्काउन थालेका थिए । पछि विस्तार विस्तार मेरी सासुआमाले मसँग कुरा अघि बढाउन थाल्नुभएको थियो ।
पछि घरमै आउ भनेर बोलाउन पनि थाल्नुभयो । मेरो अवस्था बुझेर, मलाई गाह्रो भएको बुझेर किनमेल गरेर ल्याइदिने गर्नुभयो । सासु ससुरा दुवैले मलाई धेरै माया गर्न थाल्नुभयो । साथै खाना बनाएर मेरो अपार्टमेन्टमै ल्याइदिने गर्न थाल्नुभयो । अनि म पनि कहिले कसो उहाँको घर जान थालेँ ।
एक दिन बामा आमा दुवैले खाना खानका लागि बोलाउनुभयो । अनि म गएँ । त्यो दिन मेरो ससुराबुबा र सासुआमाले मलाई आफ्नै छोरासँग घुम्न जाउ राम्रो छ भन्न थाल्नुभयो । यतिबेलासम्म मेरो र श्रीमानको त्यस्तै तीन, चार पटकमात्र भेट भएको थियो, त्यो पनि खाना खान जाँदामात्र ।
एक्कासी घुम्न जाउ भन्दा मलाई निकै अप्ठेरो लागेर जान्न भनेँ । यस्ता कुरा मैले मेरा कलेजका साथीहरू, शिक्षक र एक जना मेरा साथीका बुबालाई शेयर गर्ने गर्थेँ । साथीको बुबाले पनि मलाई निकै माया गर्नुहुन्थ्यो । यस्ता कुरामा उहाँले मलाई धेरै सम्झाउनुहुन्थ्यो । केटा राम्रो र उसको बानी व्यवहार राम्रो भए तिमी उसँग घुम्न जान सक्छौ भनेर सुझाउनु हुन्थ्यो ।
म अझै के के भनिरहन्थेँ । एकदिन मेरो श्रीमानले नै मलाई ‘त्यो ठाउँ गएर आउँ’ भन्नुभयो । अनि मैले उहाँको प्रस्तावलाई सहर्ष स्वीकार गरेँ । हामी बसिरहेको ठाउँबाट पुग्न दुई घण्टा जति लाग्थ्यो । हामी कुरा गर्दै गयौँ । त्यो बेलामा मेरो श्रीमानले विवाहको प्रस्ताव राख्नुभयो । अनि मैले सबै कुरा बुझेँ कि यो सबै बुबाआमाकै योजना अनुरुप भएको छ ।
यो कुरा पनि मैले साथीहरु, शिक्षक र साथीको बुबालाई पनि भनेँ । उहाँहरु सबैले हुन्छ विवाह गर भनेर सल्लाह दिनुभयो । मलाई के हुने हो भने डर पनि लागेको थियो । श्रीमान् र उहाँको परिवारले मलाई पहिलादेखि नै गरेको व्यवहार अत्यन्तै मन परेको थियो । एकदिन उहाँहरुलाई भेटेर मैले नै ‘हामी विवाह गरौँ’ भनेँ । त्यसपछि मैले उहाँहरुको संस्कृतिबारे अध्ययन गर्न थालेँ । धेरै कुरा त हाम्रो जस्तै रहेछ । फरक रहेछ त भाषा र गर्ने तरिका ।
त्यसपछि मैले मेरो परिवारमा हाम्रो नि यस्तो हुन्छ भन्दै सिकाउँदै गएँ । नेपाली खाना पकाउँदै खुआउँदै गर्न थालेँ । मेरो र परिवारको नाता झन् बलियो हुँदै गयो । छोरी नपाएको परिवारले छोरी पाएको थियो भने म अनाथ चेलीले आमाबुबा पाएकी थिएँ । यसरी हामी एउटा खुशी परिवारमा छौँ, हाम्रो तीन वर्षकी छोरी पनि छन् ।