टी–२० विश्वकप छनोटमा नेपालको सनसनीपूर्ण एक रनको जित
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
1.3k
Shares
काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट क्रिकेट अन्तर्गत सुपर सिक्समा सनसनीपूर्ण रोमाञ्चक जित हासिल गरेको छ ।
नेपालले यूएईलाई मात्र एक रनले हराएको हो ।
जितका लागि १४१ रनको लक्ष्य पछ्याएको यूएईले १३९ रनमात्र बनाएपछि नेपालले सनसनीपूर्ण जित निकालेको हो । यूएईले ९ विकेटको क्षतिमा सो योगफल बनाएको हो ।
कुनै समय १० ओभरमा विकेटको क्षतिमा ८० रन बनाइसकेको यूएई जित नजिक पुगेर पनि लगातार विकेट गुमाएसँग हार बेहोर्न बाध्य भयो ।
अलिशान सराफूले सर्वाधिक ५८ रन बनाएको इनिङ्सलाई समेट्ने क्रममा दिपेन्द्र सिंह ऐरीले ३ तथा सोमपाल कामी, गुलसन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनायो ।
ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । उनको टी–२० मा यो नवौँ अर्धशतक हो।
पहिलो विकेटका लागि ५६ रनको साझोदारी गर्ने क्रममा अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए । कप्तान रोहितकुमार पौडेल २०, गुलसन झा १४ र कुशल मल्ल १० रनमा आउट भए ।
नेपालको यो जितसँगै सुपर सिक्समा बोनस बंकसहित नेपालको ४ अंक भएको छ । ओमानको पनि ४ अंक रहेको छ ।
यूएईको २ अंक छ । जापान, समोआ र कतार भने अंकविहीन छन् ।