गुगलद्वारा भारतमा १५ अर्ब डलर लगानी घोषणा, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब बन्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
1.5k
Shares
काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर बराबरको पूँजी लगानी गर्दै भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ। यस लगानीअन्तर्गत भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गरिने भएको छ।
गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस कुरियनले नयाँदिल्लीमा आयोजित समारोहमा यस हबलाई ‘गिगावाट–स्केल एआई आधार’ का रूपमा विकास गरिने जानकारी दिए। उनले यो गुगलले अमेरिका बाहिर गर्ने सबैभन्दा ठूलो एआई लगानी भएको र यसले भारतलाई एआई प्रविधिको विश्वव्यापी नक्सामा अग्रस्थानमा पुर्याउने विश्वास व्यक्त गरे।
गुगलले निर्माण गर्न लागेको उक्त एआई केन्द्रलाई अन्ततः ‘धेरै गिगावाट क्षमतामा’ विस्तार गर्ने योजना छ, जसले भारतमा तीव्र रूपमा बढिरहेको डिजिटल बजार र एआई उपकरणहरूको मागलाई सम्बोधन गर्नेछ। हाल भारतमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ९० करोड नाघेको अनुमान छ।
भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले गुगलको लगानीप्रति धन्यवाद ज्ञापन गर्दै यो डिजिटल पूर्वाधारले 'भारत एआई' दृष्टिकोणका लक्ष्यहरू पूरा गर्नका लागि महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने र भारतलाई एआईको उत्पादन तथा नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउने बताए।
त्यसैगरी, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू ले यो परियोजनालाई राज्यका लागि 'एक ऐतिहासिक दिन' बताए भने उनका छोरा तथा प्रविधिमन्त्री नारा लोकेशले सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै यो लगानी राज्यको डिजिटल भविष्यका लागि एक ठूलो छलाङ भएको उल्लेख गरे।
गुगलको यो निर्णय भारतमा तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता बजारप्रति अन्तर्राष्ट्रिय कम्पनीहरूको बढ्दो चासोको अर्को उदाहरण बनेको छ। यसै महिना अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोदेईले पनि अर्को वर्ष भारतमा आफ्नो कार्यालय स्थापना गर्ने योजना घोषणा गरेका थिए। प्रधानमन्त्री मोदीले 'एक्स' मा एआई इनोभेसनलाई गति दिइरहेको भारतको टेक इकोसिस्टम र प्रतिभाशाली युवाहरूको प्रशंसा गरेका थिए।
यसैगरी, ओपनएआईले यस वर्षको अन्त्यमा भारतमा आफ्नो कार्यालय खोल्ने तयारी गरेको छ, जहाँ च्याटजिपिटीको प्रयोग गत वर्षको तुलनामा चार गुणा बढेको छ। अर्को एआई कम्पनी पप्र्लेक्सिटीले पनि एयरटेलसँग साझेदारी गरी ३६ करोड ग्राहकलाई निःशुल्क सदस्यता प्रदान गरेको छ।