arrow

नेपालको विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा, २० अर्ब डलर नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
foreign-exchange-always-25.jpg

काठमाडौँ। नेपालको विदेशी मुद्रा सञ्चिति बढेर ऐतिहासिक अवस्थामा पुगेको छ। वैदेशिक रोजगारमा गएकाले पठाएको विप्रेषणको आकारमा भएको वृद्धि, मुलुकबाट बाहिरिनेभन्दा भित्रिने विदेशी विनिमय मुद्राको आकार बढ्नु र शोधनान्तर स्थिति निरन्तर बचतमा रहनुले विदेशी मुद्रा सञ्चितिको आकार चुलिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार, २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ, जुन २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ६.९ प्रतिशतले बढेर २५ खर्ब ८२ अर्ब ३८ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति १३.७ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ। २०८२ भदौ मसान्तको कुल सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८२/८३ को साउन–भदौको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३३.१ प्रतिशत र अमेरिकी डलरमा २७.६ प्रतिशतले वृद्धि भएको छ। भदौ महिनामा मात्र १७४ अर्ब ६७ करोड रुपैयाँ बराबरको विप्रेषण आएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, निर्यात ८८.६ प्रतिशतले बढेको छ भने आयात १६.२ प्रतिशतले वृद्धि भएको छ।

साउन–भदौमा नेपाल सरकारको कुल खर्च १८० अर्ब १७ करोड र राजश्व परिचालन १५७ अर्ब ५३ करोड रुपैयाँ भएको छ। विस्तृत मुद्राप्रदाय वार्षिक विन्दुगत आधारमा १२.४ प्रतिशत ले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रका कर्जामा ०.९ प्रतिशतले वृद्धि भएको छ।

अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर २.१३ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको ब्याजदर ७.६६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ