नेपाल तेस्रोपटक टी-२० विश्वकपमा छनोट: वेस्ट इन्डिजलाई पराजित गर्दै ओमानमा ऐतिहासिक सफलता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1k
Shares
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले विषम राजनैतिक परिस्थितिका बाबजुद पनि विश्व क्रिकेट जगतमा लगातारको सफलता हासिल गर्दै अब्बल परिचय बनाएको छ। वेस्ट इन्डिजजस्तो टेस्ट खेल्ने राष्ट्रलाई क्रिकेट शृङ्खलामै पराजित गरेर उच्च मनोबलसहित ओमान पुगेको नेपाली टिम आगामी सन् २०२६ मा भारत तथा श्रीलङ्कामा आयोजना हुने टी-२० विश्वकप क्रिकेटका लागि तेस्रोपटक छनोट भएपछि सम्पूर्ण मुलुकवासी गौरवान्वित बनेका छन्।
नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो। यसपालि नेपाल एशिया क्षेत्रीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल सम्पन्न हुनुअघि नै विश्वकपमा प्रवेश गर्न सफल भयो। युएईले सामुआलाई पराजित गरेपछि नेपालको विश्वकप प्रवेश सुनिश्चित भएको हो। त्यसपछि नेपालले ओमानलाई उनीहरूको गृह मैदानमा सानदार नतिजाले पराजित गरेर अङ्क तालिकामा आठ अङ्कसहित शिर्ष स्थानमा पुगेको छ, जसलाई नेपालकै ठूलो ऐतिहासिक उपलब्धि मानिएको छ।
व्यक्तिगत प्रदर्शनमा कीर्तिमान र सफलता:
कुशल भुर्तेल, दुई पटक प्लेयर अफ दि म्याच: विश्वकप छनोट जस्तो उच्चस्तरको प्रतिस्पर्धामा ब्याट्सम्यान कुशल भुर्तेलले दुई पटक प्लेयर अफ दि म्याच को उपाधि जितेका छन्। उनले कुवेतसँग ६६ रन र ओमानसँग ६९ रन बनाएर नेपालको अपराजित यात्रामा महत्वपूर्ण भूमिका निभाए।
सन्दीप लामिछानेको पाँच विकेट: नेपाल क्रिकेट सङ्घद्वारा निलम्बनमा रहे पनि लेग स्पिनर सन्दीप लामिछानेले विश्वकप छनोटमा कतारलाई पराजित गर्दा एक्लैले पाँच विकेट लिएका थिए र प्लेयर अफ दि म्याच बनेका थिए। सबैभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव बटुलेका लामिछानेको अन्तर्राष्ट्रिय विकेट सङ्ख्या २५५ पुगेको छ।
दिपेन्द्रको पीडा बिर्साउने प्रदर्शन: सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको पीडा बिर्साउँदै यसपालि नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई एक रनले पराजित गर्यो। यो खेलमा दिपेन्द्रसिंह ऐरी प्लेयर अफ दि म्याच बनेका थिए। उनले चार ओभरमा तीन विकेट लिई एउटा रन आउटसमेत गरेका थिए। अन्तिम ओभरमा उनले तीन बलमा तीन विकेट लिएर नेपाललाई विजयी बनाएका थिए।
अन्य महत्त्वपूर्ण घटनाक्रम:
विश्वकप छनोटका सिलसिलामा नेपाल र जापानबीच २५ वर्षपछि भेट भएको थियो, जहाँ नेपालले जापानलाई पाँच विकेटले पराजित गरेको थियो।
सन् २०१४ मा विश्वकपमा नेपाललाई पुर्याएका तत्कालीन कप्तान तथा हाल नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले टिमलाई बधाई दिँदै अब नेपाललाई आईसीसीको पूर्ण सदस्य राष्ट्र बनाउने चाहना स्पष्ट पारेका छन्।
२२ वर्षीय कप्तान रोहित पौडेलले समर्पण, विश्वास र एकताबाट विश्वकपमा जाने सपना वास्तविकतामा परिणत भएको धारणा व्यक्त गरेका छन्।
नेपाली महिला क्रिकेट टोलीले पनि टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसियालाई उनीहरूकै घरेलु मैदानमा पराजित गरेर उपाधि जित्न सफल भएको छ र अहिले विश्व वरियताक्रममा २१औँ स्थानमा पुगेको छ। नेपालले २०२७ मा आईसीसी यू-१९ महिला विश्वकप आयोजना गर्ने तयारी गरेको छ।
अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरूको सम्मानमा नेपाल सरकारले पुरुष तथा महिला खेलाडीका बेग्लाबेग्लै हुलाक टिकट प्रकाशन गरेको छ। नेपालले तेस्रोपटक टी-२० विश्वकपमा प्रवेश गर्नु खेलाडीहरूको कठिन परिश्रम र राष्ट्रप्रेमको परिणाम हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान थप बलियो बनाएको छ।