जेन-जी आन्दोलन क्षतिको बीमा दाबी भुक्तानीमा ढिलाइ: २३ अर्बको दाबीमध्ये २ अर्ब पनि भुक्तान भएन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
892
Shares
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीमा ढिलाइ भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म १४ निर्जीवन र ४ लघु बीमा कम्पनीहरूमा ३ हजार १६३ वटा दाबी दर्ता भएका छन्, जसको कुल मूल्य २३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। तर, सोमध्ये हालसम्म जम्मा ८.४२ प्रतिशत अर्थात् १ अर्ब ९५ करोड रुपैयाँ मात्र अग्रिम वा अन्तिम भुक्तानी भएको छ।
सरकारले पीडित व्यवसायीलाई राहतस्वरूप ५० प्रतिशत अग्रिम भुक्तानीको व्यवस्था गरे पनि पुनर्बीमा कम्पनीबाट रकम नआएका कारण अधिकांश बीमकहरूले भुक्तानीमा ढिलाइ गरिरहेका छन्। तथ्याङ्क अनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मा सबैभन्दा बढी ५ अर्ब ४८ करोडको दाबी परेकोमा ७८ करोड भुक्तानी भएको छ भने दि ओरिएण्टल इन्स्योरेन्सले ५ अर्ब ५४ करोड दाबीमध्ये जम्मा ७१ लाख रुपैयाँ मात्र दिएको छ।
कुल दाबी रकम पछिल्ला हप्ताहरूमा सामान्य रूपमा घटेको छ। असोज ९ मा २३ अर्ब ३९ करोडबाट असोज २८ सम्ममा यो २३ अर्ब १९ करोडमा झरेको छ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई पेश्कीबापत १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराएको छ। विज्ञहरूले यो घटना नेपालकै इतिहासको सबैभन्दा ठूलो “मास क्लेम” भएको र यसले बीमा कम्पनीहरूको भुक्तानी क्षमतामा चुनौती खडा गर्नुका साथै बीमा क्षेत्रको पुनर्संरचनाको आवश्यकतासमेत देखाएको बताएका छन्।