arrow

स्मरणीय छनोट चरण

उपाधि विजेता बन्दै नेपाल टी–२० विश्वकपमा 

सामोआमाथि १२४ रनको फराकिलो जित, नेपालले बनायो २११ रन, आसिफ ६९, ऐरीको ५३ र बमको ३९ रन,  ललितलाई ३ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
nep-wc-t20-2025.jpg

काठमाडौँ । नेपाल शतप्रतिशत नतिजासहित उपाधि विजेता बन्दै टी–२० विश्वकपमा पुगेको छ । ओमानको मस्कटमा आयोजना भएको एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा सबै खेल जितेर उपाधिसहित नेपाल भारत र श्रीलंकाको आयोजनामा आगामी फेब्रुअरीमा हुने विश्वकपमा छनोट भएको हो । 

सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्यो । 

२१२ रनको चुनौती पछ्याएको सामोआले ७ विकेटको क्षतिमा ८७ रनमात्र बनाउन सक्यो । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए । 

करण केसी, रोहित पौडेल र सन्दीप लामिछानेले १–१ विकेट लिए । 

यसअघि खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा यो प्रतियोगिताकै सर्वाधिक २११ रन बनायो । यो प्रतियोगिताकै यो दोस्रो उच्च योगफल हो । 

नेपालका लागि आसिफ शेखले ४१ बलमा ६९ तथा दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ५३ रन बनाए । पहिलो विकेटका लागि आसिफसँग ६३ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेल १५ बलमा १७ रन बनाए । 

पाँचौँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गर्ने क्रममा लोकेश बलले करियरकै उत्कृष्ट १२ बलमा अविजित रहँदै ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाए । 

जितसँगै नेपाल १० अंकसहित शीर्ष स्थानमा रहेर उपाधि जित्यो । ओमानले जापानमाथि सहज ९ विकेटको जित निकाल्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रह्यो ।

सुपर सिक्समा रहेका छ मध्ये शीर्ष तीन टिमले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिन पाउने छन् । 

सोअनुसार ६ अंकबाट तेस्रो स्थानमा रहेको यूएई पनि विश्वकपमा पुगेको छ । 

कतार, जापान र सामोआ बाहिरिएका छन् । कतारको ४ अंक रह्यो । जापानको २ तथा सामोआ अंकविहीन रह्यो ।

नेपालले छनोटका यसअघिका सबै खेल जितेको थियो । समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ