arrow

मनसुन सकिएपछि मनाङमा विदेशी पर्यटकको आगमन बढ्यो

डेढ महिनामा ७ हजार बढी पर्यटक भित्रिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
manang-gau.jpg

मनाङ। मनसुन सकिएर हिमाली जिल्ला मनाङको मौसम खुलेसँगै यहाँ विदेशी पर्यटकको आगमन बढेको छ। यस वर्षको याम सुरु भएपछिको पहिलो डेढ महिनामा सात हजार ४६१ जना पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ।

एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार याम सुरु भएपछि इजरायलका एक हजार १२७, जर्मनीका पाँच सय एक, बेलायतका चार सय ६६ र अस्ट्रेलियाका चार सय ४१ जनासहित ८७ देशका नागरिकले मनाङअन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ, लार्के भञ्ज्याङ र तिलिचो तालको भ्रमण गरेका छन्।

पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले जेन-जी आन्दोलन र मनसुनको अन्त्यमा भएको बाढीपहिराका कारण पर्यटकको आगमनमा आएको समस्या अहिले कम हुँदै गएको बताए। उनले भने, "जेन-जी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटलहरू पनि फिर्ता लिइरहेका थिए। अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ।"

होटल व्यवसायी नवीनविक्रम सिंहका अनुसार बुकिङ रद्द गरिएका होटलहरू अहिले भरिन थालेका छन्। यद्यपि, जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति नभएको उनको भनाइ छ। विशेषगरी देशकै ठूलो मानिएको हिल्टन होटल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुन सक्ने पर्यटन व्यवसायीहरूको अनुमान छ।

विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जीवनको अनुभव गर्न, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका पाइन्छन्। विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन्।

यद्यपि, यस समयमा सडक तथा पदमार्गमा पर्यटकको अपेक्षित चहलपहल हुन सकेको छैन। पर्यटन व्यवसायीहरूले देशको अर्थतन्त्रलाई प्रभाव पार्ने मनाङको पदमार्गको यात्रा तथा सडकलाई सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्। पछिल्लो समय जोखिमयुक्त भ्रमण र ग्रामीण पर्यटनमा जोड दिने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ, जसले स्वदेशी पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ