काठमाडौँ । जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेतृ साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन्। ६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुन्।
उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उनका रूढीवादी दृष्टिकोणकी दृढ समर्थक रहँदै आएकी छन्। पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई प्रेरणाका रूपमा लिने ताकाइचीलाई चीन र कोरियाले विवादास्पद मानेको यासुकुनी मन्दिरमा नियमित दर्शन गर्ने भएकाले ‘चिनियाँ बाज’ भनेर पनि चिनिन्छ।
सन् १९९३ मा संसद्मा निर्वाचित भएकी ताकाइचीले आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालयका जिम्मेवारी बहन गरिसकेकी छन्। यद्यपि, उनको कूटनीतिक अनुभव सीमित रहेको बताइन्छ। बलियो सैन्य क्षमता, वित्तीय खर्च विस्तार, आणविक संलयन प्रवर्द्धन, साइबर सुरक्षा सुदृढीकरण र आप्रवासन नीतिमा कडाइको पक्षमा उनी आवाज उठाउँदै आएकी छन्।
ताकाइची एक अत्यन्तै परिश्रमी नेतृका रूपमा परिचित छन्। विद्यार्थी जीवनमा उनी हेभी मेटल ब्यान्डकी ड्रमर र मोटरसाइकल प्रेमी थिइन्। उनी आफूलाई ‘वर्कहोलिक’ भनेर परिभाषित गर्दै ‘कार्य–जीवन सन्तुलन’ को अवधारणा त्याग्ने बताउँछिन्।
जापान लैङ्गिक समानताका सूचकाङ्कमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गरेकी थिइनन्। यद्यपि, पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनले एलडिपीको रूपरेखा केही परिवर्तन हुने बताएकी थिइन्।
उनले महिलाको सशक्त सहभागिता सुनिश्चित गर्ने वाचा गरे पनि सोमबार घोषणा गरिएको मन्त्रिपरिषद्मा दुई जना मात्र महिला मन्त्री नियुक्त गरिएका छन्। उनी शाही परिवारको पुरुष–मात्र उत्तराधिकारको पक्षमा छिन् र समलिङ्गी विवाह तथा दम्पतीहरूले फरक उपनाम राख्न पाउने कानूनी संशोधनको विरोध गर्छिन्। राजनीतिक विश्लेषक चियाको सातोका अनुसार ताकाइचीका नीतिहरू अत्यन्तै रूढीवादी छन् र विविधतालाई स्वीकार गर्ने दृष्टिकोण अपनाउनेमा शङ्का छ।
ताकाइचीको कडा दक्षिणपन्थी दृष्टिकोणले गर्दा जापानी सरकार दायाँतिर मोड्न सक्ने विश्लेषकहरूको आकलन छ। उनको इतिहास र सुरक्षासम्बन्धी दृष्टिकोण विवादास्पद रहँदै आएको छ, किनकि उनले जापानको युद्धकालीन आक्रमण र अत्याचार स्वीकार गर्न अस्वीकार गरेकी छन्। यसले चीन र दक्षिण कोरियासँगको सम्बन्धलाई जटिल बनाउन सक्ने अनुमान छ। यद्यपि, उनले चीनसँग स्थिर सम्बन्ध कायम राख्ने र दक्षिण कोरियासँग सुरक्षा साझेदारीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।