arrow

भयरहित निर्वाचनको वातावरण बनाउन सरकार कटिबद्ध: प्रधानमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
sudhila-karki-088.jpg

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएकी छन्।

बुधबार बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल संवत ११४६ न्हुँद समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्नुपर्ने दायित्व पनि अहिलेको सरकारसँग रहेको जिकिर गरिन्। निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल, वर्ग र समूहको साथ र सहयोग रहनेछ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताइन्।

गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको आन्दोलनबाट बनेको सरकारलाई फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी रहेको प्रधानमन्त्री कार्कीले स्मरण गराइन्। उनले भनिन्, “२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरूको अनाहकमा ज्यान गएको र सयौंको सङ्ख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु। आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

उनले सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारसँग नेपालको संविधानको अधीनमा रही जेन–जी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको बताइन्। उनले यस कार्यका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका रहने भन्दै सबैलाई सहकार्यका लागि आग्रहसमेत गरिन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको जिकिर गरिन्। उनले यसका प्रवर्तक शंखधर साःख्वा एक व्यापारी मात्र नभई समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भएको बताइन्। नेपाल संवत्को संवर्द्धन, प्रवर्द्धन र व्यावहारिक कार्यान्वयनका लागि नागरिकको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार रहेको उनले उल्लेख गरिन्। नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको र नेपाली जनताले यसको प्रादुर्भाव गरेकाले यो नेपाली राष्ट्रियता, मौलिकता एवम् सामाजिक इतिहासको महत्वपूर्ण धरोहर भएको उनले जिकिर गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ