arrow

दिदीबहिनी नभएपछि दाजुभाइले नै एकापसमा लगाए भाइटीका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
tanahu-daju-bhai.jpg

दमौली (तनहुँ)। तिहार दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व हो। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्ने परम्परा छ। तर, तनहुँको व्यास नगरपालिका–१०, सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले विगत आठ वर्षदेखि एकापसमा भाइटीका लगाएर यो पर्व मनाउँदै आइरहेका छन्।

आज शुभसाइतमा उनीहरूले एकापसमा टीका लगाए। सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे। त्यसपछि भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरङ्गी टीका लगाएर फूलको माला गलामा पहिराइदिए र भाइको शत्रु नाश र दीर्घायुको कामना गर्दै ओखर फोरे। त्यसपछि भाइ सुमनले पनि दाजु मदनलाई सोही प्रक्रियामा भाइटीका लगाइदिए।

दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताए। उनले भने, “विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं। उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो। हामी टीका थाप्न कुरिरहेका थियौं, नआएपछि मन खल्लो भो। त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौं।”

सुरुमा दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता नभएकाले धेरैले अनौठो माने पनि उनीहरूले यो प्रक्रियालाई निरन्तरता दिँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ