अन्नपूर्ण आधार शिविर र मुस्ताङमा पर्यटकको अत्यधिक घुइँचो, आवास व्यवस्थापन चुनौतीपूर्ण
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
976
Shares
म्याग्दी। दसैँ, तिहार र छठलगायत चाडपर्वको लामो बिदामा म्याग्दीको अन्नपूर्ण आधार शिविर र मुस्ताङमा आन्तरिक पर्यटकको अप्रत्याशित घुइँचो लागेको छ। गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्ताको सुरुसम्म पनि रोकिएको छैन।
विद्यालय, कलेजका विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाहरूको रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेका हुन्। स्थल मार्गबाट घुम्न निस्कनेहरूको भीडले मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् भने होटल सञ्चालकलाई आवास व्यवस्थापन गर्न चुनौती थपिएको छ।
आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ। मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन्। सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन्।
यसैगरी, छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुची राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको चार हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरमा पुगेका छन्। दैनिक पाँच सय जनाभन्दा बढी पर्यटक यहाँ पुगेका छन्।
बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठले दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो विगतदेखिनै भए पनि यसपाली अन्नपूर्ण आधार शिविर जानेहरू पनि थपिँदा होटल, रेष्टुरेन्ट र होमस्टेहरूले क्षमता धान्न नसकेको बताए। उनले राज्यको पर्यटन नीति व्यवहारिक कार्यान्वयन नहुँदा पाहुनाहरूले गोजीमा पैसा भएर पनि खाना र बस्नका लागि दुःख पाउने अवस्था आएको गुनासो गरे।
म्याग्दीमा दैनिक दुई हजार र मुस्ताङमा दैनिक तीन हजार जनासम्म पाहुनालाई सहज व्यवस्थापन गर्न सकिने क्षमता रहे पनि अत्यधिक चापका कारण समस्या आएपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङ गरेर मात्र घुम्न आउन अनुरोध गरेका छन्। कुश्मा, बागलुङ र पोखराका होटल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा समेत बसोबासको व्यवस्था मिलाइएको छ।
भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार छठपछि आगमन दर घटे पनि होटलको अकुपेन्सी राम्रो रहेको छ। उनले जेनजी आन्दोलनका कारण सोह्र श्राद्ध र प्रतिकूल मौसमले दसैँ लगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई अहिले राहत मिलेको बताए।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ तथा अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको बताए। पर्यटक आगमनले होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित गरेको र नयाँ लगानीको सम्भावना देखाएको उनको भनाइ छ।
पर्यटकहरूले बेनी–जोमसोम सडकको अधुरो स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो प्रभावित ठाउँको सडक सुरक्षित बनाउनुपर्ने र होटलहरूको वर्गीकरण गरी सेवा शुल्कमा नियमन गर्नुपर्ने माग गरेका छन्। गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।