arrow

शेयर बजार चलाउन नियम र स्वतन्त्रता दुवै आवश्यक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
chudamani-chapagain-ceo-nepse.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् ।

नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभामा उनले शेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताए ।

बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको उर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिवद्धता जाहेर गरे ।

नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल शेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उनको भनाइ छ ।  

नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले भने, ‘आजको संसारमा पुँजीबजार केबल शेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो । राष्ट्रको विकास श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएका छन् । नेपाल अझै पनि बैंकमा आधारित अर्थतन्त्रबाट बजार आधारित अर्थतन्त्रको यात्रामा छ । यो यात्रा सफल बनाउन लगानीकर्ता, नियमक, दलालकम्पनी र सूचिकृत कम्पनी सबैको साझा जिम्मवारी हुन्छ । बजारमा सबैभन्दा ठूलो कुरा विश्वास हो । विश्वास हरायो भने बजार पनि कमजोर हुन्छ । बजारमा उत्तारचढाव आउँछ । तर यसले दीर्घकालिन सोच राख्छ र अध्ययन गरेर निर्णय गर्छ । अन्ततः  सफल हुन्छ । बजार भाग्यले होइन, बजारले चल्छ । दीर्घकालीन सोच र ज्ञान र संयम सफल लगानीका आधार हुन् । नेपालमा कतिपयले बजारलाई छोटो अवधिको कारोबारका रुपमा हेर्छन् तर वास्तमा पुँजीबजार जनताको वचतलाई उत्पादनशील लगानीमा रुपान्तरण गर्ने माध्यम हो । यसले देशमा रोजगारी सिर्जना गर्नुका समृद्धि ल्याउँछ । बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक हुन्छ । नियम धेरै भयो भने बजारमा उत्साह घट्छ, तर स्वतन्त्रता बढी भयो भने बजारमा अराजकता आउँछ । त्यसैले हामीले स्मार्ट रेगुलेसन अर्थात बुद्धिमानीपूर्वक नियमन अपनाउनुपर्छ । जसले लगानीकर्ताको हित पनि बँचाओस् । बजारको उर्जा पनि कायम राखोस् ।’

उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै शेयर बजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल शेयर बजार लगानी कर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए ।  

शेयर बजार लगानी कर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा शेयर लगानी कर्ता संगठित हुन जरुरी रहेकाले संघ स्थापना गरिएको बताए । उनका अनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्याउन संघले महत्वपूर्ण भूमिका खेलेको छ । 

अध्यक्ष श्रेष्ठले भने, ‘एउटा ठूलो तप्का ७० लाख शेयरका डिमाण्ट एकाउण्टवाला छन् । यो संख्या उल्लेख्य हो । नेपालको पुँजीबजारलाई चलायमान बनाउने कुरामा उनीको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । तर शेयर बजारका लगानीकर्ता जति छरिएर रहेका छौँ । यसले हाम्रो आवाज नीतिगत तहसम्म पुग्न सही तवरले पुर्याउन सकेका छौँ की छैनौँ भनेर विश्लेषण गरेपछि यो संस्था खोलिएको हो ।’

साधारण लगानीकर्ता संघ अध्यक्ष रीतुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर शेयर बजारको कारोबार हुने गरेको बताए । उनले नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिँदा आफूहरू संघ, संगठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए । 

उनले शेयर बजारका एजेण्डा बोकेर नियमक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ