मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको त्रास: आक्रमणकारीको पहिचान नहुँदा स्थानीय त्रसित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
812
Shares
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९, गुरुवागाउँका बासिन्दा वन्यजन्तुको आक्रमणबाट त्रसित बनेका छन्। गत कात्तिक ८ गते स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान घटना घटेको दश दिन बितिसक्दा पनि हुन नसक्दा स्थानीयमा डर बढेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए।
वडाध्यक्ष थारूका अनुसार, खत्रीको शव सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा फेला परेको थियो। निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाको निरन्तर आक्रमणले मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।
आक्रमण गर्ने वन्यजन्तुको पहिचान र नियन्त्रणका लागि निकुञ्जले प्राविधिक तथा मानवीय जनशक्ति परिचालन गरेको छ। बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले घटना भएको क्षेत्रमा ५०० मिटरदेखि १ किलोमिटरको फरकमा नौ थान क्यामेरा जडान गरिए पनि क्यामेरामा हालसम्म कुनै जङ्गली जनावर नदेखिएको बताए। स्थानीयवासीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रविधिको प्रयोगका साथै दैनिक जनशक्ति खटाएर बाघ नियन्त्रणको प्रयास भइरहेको उनको भनाइ छ। यसका लागि निकुञ्जका कर्मचारी, नेपाली सेनाका साथै तीनवटा हात्ती परिचालन गरेर खोजी कार्य जारी राखिएको छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले प्रायः बाघ र चितुवाको आक्रमणका घटना हुने गरेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा जङ्गल नजिक नजान अनुरोध गरेका छन्। उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विभिन्न गतिविधि भइरहेको र वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानुनबमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने जानकारी पनि दिए। आगामी दिनमा जोखिम न्यूनीकरण र नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा स्थानीय र सरोकारवाला निकायसँग छलफल गरिएको पनि कँडेलले बताए।