काठमाडौँ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले शनिबार काठमाडौँमा आयोजना गरेको के-फुड कार्यक्रम सम्पन्न भएको छ ।
कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीले कोरियाली खानामार्फत कोरियाको सम्झना साट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
नेपालस्थित गणतन्त्र कोरियाली राजदूत थेयङ पार्कले कार्यक्रमले कोरियामा अनुभव लिई फर्किएका कामदार तथा पूर्व विद्यार्थीका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षण परिवार र साथीसँग साझा गर्ने अर्थपूर्ण अवसर भएको बताए ।
राजदूत पार्कले के-पप, के-ड्रामा र के-फुडमार्फत नेपालमा कोरियाली संस्कृतिको बढ्दो प्रभावलाई प्रशंसा गरे।
उनले कोरिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने कुरामा जोड दिँदै कोरियामा आफ्नो बहुमूल्य समय बिताएर, आज नेपालमा साथीभाइ र परिवारसँग कोरियाली खानाको स्वाद दिलाउने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
के-फुड उद्यमशीलता तालिम कोरियाली सरकारले जारी गरिरहेको कोरियाबाट फर्किएका कामदारको पुनर्एकीकरण कार्यक्रम हो।
कोरियाली सरकारले नेपाली युवालाई लक्षित गर्दै दिगो स्टार्टअप इकोसिस्टमको लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालमा रोजगारी सिर्जना गर्ने र नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्य राखेको छ।
कार्यक्रममा दूतावासका कर्मचारीसहित ३५ जना भन्दा बढी सहभागी थिए ।