arrow

भारी हिमपात र चिसोले मुस्ताङका याकचौँरी बेँसीमा सारियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
chauri-mustang.jpg

मुस्ताङ। एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै मुस्ताङका उच्च लेकमा पालिएका याकचौँरीहरूलाई बेँसीका न्यानो स्थानहरूमा स्थानान्तरण गरिएको छ। हिमपातले उच्च लेकका घाँसे चरनक्षेत्र पूरै ढाक्नुका साथै पानीका मुहानसमेत जमेपछि चौँरीहरूलाई चिसोबाट जोगाउन यो परम्परागत व्यवस्थापन अपनाइएको हो।

बर्सेनि मुस्ताङका पाँच स्थानीय तहमा पालिएका याकचौँरीहरूलाई हिउँदयाम (कात्तिकदेखि जेठ) मा बेँसीमा झार्ने र गर्मी सुरु भएपछि (वैशाखदेखि असोज मसान्त) उच्च लेक तथा खर्कमा पुर्‍याउने गरिन्छ। हिमालयन चौँरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले हिउँदयाममा चरनक्षेत्र अभाव हुने, घाँस, पानी र आहारा व्यवस्थापनमा समस्या आउने तथा गोठालालाई समेत हिमपात र चिसोले सास्ती पुर्‍याउने भएकाले यसो गर्नुपरेको जानकारी दिए।

थासाङ गाउँपालिका–२ स्थित मार्छे लेकका १० घरपरिवारका झण्डै एक हजार याकचौँरी बेँसी झारिएका छन्। त्यसैगरी, मुलिखर्क लेकका करिब पाँच सय र बतासे लेकका करिब सात सय याकचौँरी पनि जाडो छल्न तल झारिएका छन्। घरपझोङ गाउँपालिका–४ जोमसोमका याकचौँरीपालकहरू भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब पाँच सय बढी चौँरी पनि हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएको छ। माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका चौँरीहरूलाई समेत हिउँ परे पछि पारिलो स्थानमा सारिएको छ।

पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा रहेको व्यावसायिक याकचौँरीपालन जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको छ। अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँस अभाव हुनु र हिमचितुवालगायत वन्यजन्तुको आक्रमणबाट याकचौँरीमा क्षति हुने जोखिम बढ्दै गएकोले यहाँको परम्परागत चौँरीपालन व्यवसाय सङ्कटमा परेको सचिव हिराचनको भनाइ छ।

मुस्ताङका किसानहरूले चौँरीको दूधबाट दही, घिउ र छुर्पीजस्ता परिकार निर्माण गर्नुका साथै वैशाख र भदौमा आलो रगत निकालेर दोहोरो फाइदा लिन्छन्। मासुका लागि उपयोग गरिने वयस्क याकको मूल्य रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म पर्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ