हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त: युएईसँग ४३ रनले पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
769
Shares
काठमाडौँ। हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ। यो हारसँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ।
युएईले प्रस्तुत गरेको १३० रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनमा मात्रै समेटियो। नेपालका लागि मोहमद आदिल आलमले ३२ रन र सन्दीप जोराले अविजित ३१ रनको योगदान दिए।
त्यसअघि, पहिले ब्याटिङ गरेको युएईले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको थियो। युएईका लागि निलाश केसवानीले सर्वाधिक ७३ रन र जाहिद अलीले ३० रन जोडे। नेपालका लागि राशिद खानले दुई र रुपेश सिंहले एक विकेट लिए।
यस प्रतियोगितामा सहभागी १२ टोलीमध्ये नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो भने अफगानिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्कासँग पराजित भएको थियो।