कोरला नाका हुँदै कैलाश मानसरोवर जोड्ने ऐतिहासिक मार्ग खोल्न पहल
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
724
Shares
म्याग्दी। मुस्ताङमा रहेको कोरला नाकालाई पवित्र तीर्थस्थल कैलाश मानसरोवरसम्म जोड्ने धार्मिक र पर्यटकीय मार्ग खुलाउनका लागि पहल सुरु गरिएको छ। यो प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली छलफलका लागि चीनको ढोङ्वासेनमा पुगेको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरी दुईवटै स्थानीय तहका १३ जना जनप्रतिनिधि गत शुक्रबार तिब्बती अधिकारीहरूसँग छलफलका लागि चीन गएको जानकारी दिएका छन्। यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको हो।
अध्यक्ष गुरुङले नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरला नाका हुँदै मानसरोवर पुग्ने मार्गको सम्भाव्यता अध्ययनका लागि आफूहरू आएको बताए। उनले यो पहलले सार्थकता पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। कोरला नाकादेखि कैलाश मानसरोवरसम्मको दूरी तीन सय किलोमिटर मात्र रहेको र यो मार्ग कैलाश मानसरोवरको दर्शनका लागि हाल प्रयोग भइरहेको हुम्ला र भारतीय मार्गको तुलनामा निकै छोटो, कम खर्चिलो र सहज हुनेछ। कोरला नाकाबाट कैलाश मानसरोवर र ल्हासा तिब्बत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरला नाका भएर लुम्बिनीमा ल्याउनका लागि पनि यो छोटो मार्ग बन्ने अध्यक्ष गुरुङको भनाइ छ।
हालै विसं २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरला नाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भइसकेको छ। अहिले तातोपानी र रसुवा नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ।
कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले यस कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जना जनप्रतिनिधिको टोली चीन गएको बताए। उनले नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि १५० दिनको 'अनअराइभल भिसा' निःशुल्क उपलब्ध गराए पनि सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि पाँच सय डलर प्रवेश शुल्क तोकेकाले यो मार्ग सञ्चालनमा चुनौती रहेको उल्लेख गरे।