arrow

मनास्लु आरोहणका लागि नयाँ छोटो पदमार्गको अध्ययन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
Manaslu-Region_file_photo.jpg

मनाङ। हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि नयाँ र छोटो पदमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ। मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा यो सर्वेक्षण सुरु गरिएको हो।

हाल मनास्लु आरोहीहरू काठमाडौँबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै पूर्वतर्फबाट यात्रा सुरु गर्छन्। तर, नासोँ गाउँपालिकाले काठमाडौँबाट लमजुङको बेंसीसहर हुँदै मनाङको धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावना बारे अध्ययन सुरु गरेको छ। सामागाउँ र भीमथाङ दुवैतर्फको आरोहण मार्ग ६ हजार मिटर उचाइको क्याम्प थ्रीमा पुगेर मिसिन्छ।

नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङका अनुसार, सन् १९५६ मा मनास्लुको पहिलो आरोहण हुँदा भीमथाङबाटै आरोहण भएको थियो, तर पछि पदमार्गमा क्षति पुगेपछि सामागाउँतर्फबाट आरोहण थालिएको थियो। अध्यक्ष गुरुङले यदि भीमथाङतर्फको मार्गबाट आरोहण गर्न सम्भाव्यता पुष्टि भएमा यो मार्ग सबैभन्दा सजिलो, छोटो र मितव्ययी हुने बताएका छन्। तिल्चेबाट पैदल हिँडेर साढे दुई दिनमै बेस क्याम्पमा पुग्न सकिने र यो नेपालको आठ हजार मिटरभन्दा माथि बेस क्याम्पसम्म पुग्ने छोटो दुरीको पदमार्ग हुने उनको दाबी छ। यस मार्गमा करिब ३० वटा होटल रहेका छन्।

प्रारम्भिक अध्ययनमा संलग्न कर्मा शेर्पाले आफूहरू जाँदा हिउँ भएकाले थप विस्तृत अध्ययन आवश्यक रहेको बताए। उनले भीमथाङतर्फको मार्गमा पहिरोको जोखिम, मार्गको सहजता जस्ता विभिन्न प्राविधिक विषयहरूको अध्ययन गर्नुपर्ने बताएका छन्। शेर्पाले पहिलो चरणमा खिचेको फोटो/भिडियोको विश्लेषण अनुभवी आरोहीबाट गर्न बाँकी रहेको बताएका छन्। गाउँपालिकाले यस सर्वेक्षणले सफलता पाउने र आगामी दिनमा यही छोटो रुटबाट आरोहण गर्न पाइने अपेक्षा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ