ताप्लेजुङको घुन्सामा स्याउखेती परीक्षण सफल: पूर्वी हिमालमा व्यावसायिक सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
836
Shares
ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ। स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिन थालेपछि स्थानीयमा उत्साह बढेको छ।
विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवा रोपिएको थियो। रोपेको छ महिनामै स्याउ फल्न थालेपछि स्थानीयहरू व्यावसायिक खेतीका लागि आशावादी बनेका छन्। यस सफल प्रयासले ताप्लेजुङ मात्र नभई सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ।
फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै खेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो। मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट बिरुवा ल्याइएको थियो। पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारीमा फलेटार र घुन्सामा दुई/दुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ। पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको छ।
घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पाले घुन्सामा उत्पादन भएको स्याउ स्वादिलो भएको र अब आफ्नै स्याउ बगैँचा विस्तार गर्ने योजनामा रहेको बताए। स्याउखेती सफल भएसँगै थप आम्दानीको स्रोत बढ्ने भन्दै स्थानीयवासी उत्साहित भएका छन्।
घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी, १० गोल्डेन डेलिसियस र १० काला प्रजातिका बिरुवाहरू रहेका छन्। बगैँचामा जैविक विविधता कायम गर्न घार मौरी र कुखुरापालन गरिएको छ, जसले परागसेचनमा सहयोग पुर्याउने र माटो उर्वर बनाउने काम गरेको छ।
स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि नै फलेटार र घुन्साको माटो स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो। त्यसैगरी, उत्पादित स्याउको गुणस्तर परीक्षण पनि सफल भएको छ। स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोलीले स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सकारात्मक नतिजा प्राप्त भएको हो।
कार्यक्रम संयोजक शेर्पाका अनुसार, घुन्सामा उत्पादित स्याउ प्रजातिमध्ये फुजीमा १३ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनीको मात्रा पाइएको छ। फलेमा पनि फुजीमा १२ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स चिनीको मात्रा मापन गरिएको छ।
घुन्सा र फले क्षेत्रमा विदेशी सहयोगमा स्याउ बगैँचा सञ्चालन भइरहेको छ। गुणस्तर परीक्षण सफल भएसँगै पुतली सहयोग आयोजनाले स्याउखेती गर्न चाहने किसानलाई बगैँचा विस्तार गर्न सहयोग गर्ने र गत साता स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोलीले केही किसानका जग्गा नापजाँचसमेत गरेको शेर्पाले बताए।