arrow

स्वार्थको चंगुलमा कांग्रेस

logo
दामोदर शर्मा, 
प्रकाशित २०८२ मंसिर २ मंगलबार
damodar-sharma-82-8-2.jpeg

संसारमै एउटा छुट्टै विचार प्रतिपादन गरेर आफ्नै मौलिकतालाई आधार मान्दै विचारको लडाइँबाट समाज परिवर्तनको बाटो पैल्याउन सकिन्छ । आफ्नो माटो सुहाउँदो सिद्धान्त प्रतिपादन गर्दै  महान् विचारक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले समाज र देशलाई विश्व सामु उभ्याउन सफल पनि भए ।

लोकतन्त्र, राष्ट्रियता र समाजवाद भन्ने नारालाई अगाडि सार्दै शङ्खघोष गरेपछि नेपाली समाजमा विभिन्न नारा लिएर आम जनता सामु आफ्ना विचारको सम्प्रेषण गरेपछिमात्र आममान्छेमा राजनीतिक चेतले विभिन्न चरण पार गरेको देखिन्छ ।

२००३ सालमा स्थापना भएको पार्टी नेपाली कांग्रेस विभिन्न चरण आरोह अवरोह पार गर्दै २०१५ सालको चुनावमा जननिर्वाचित पार्टीबाट अत्तालिएका राजा महेन्द्रले जनताको सरकार डेढ वर्षमात्र टिक्न दिए । 

राजाले आम जनता सचेत भएको र राजनीतिक चेतको विकास भएको देख्न चाहँदैनथे । सोही चिन्ताले ०१७ साल पुस १ गते 'कु' मार्फत जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरेपछि कांग्रेसमा ठूलो चुनौती देखियो । 

त्यो चुनौती पार गर्न नेतृत्वलाई कम सकस थिएन । त्यस्तो अवस्थाबाट पार गर्दै गर्दै ०५१ सालसम्म आन्दोलन केही शिथिल देखिए पनि धेरै खस्केको थिएन । त्यसयताका दिनमा नामको मात्र कांग्रेस लिगेसीको आधारमा विचार खोजी खोजी पढेर गएको या त नेताहरुको संघर्ष त्याग देखेर आफैँ बनिएको कांग्रेसबाहेक त्यत्रो ठूलो पार्टीले गर्नुपर्ने भूमिका आम मान्छेलाई बुझाउनु पर्ने कुरा तथा प्रशिक्षण कहीँ कतै देखिँदैन । 

देशमा कम्युनिस्ट हाबी हुनु, उनीहरुले फैलिएको भ्रम चिर्न नसक्नु, आम कार्यकर्ता सामु नेता पुग्दै नपुग्नु, चुनावमा बाहेक आफ्नो उपस्थिति गाउँ घरमा नहुनु, आम सर्वसाधारणको चुलो कसरी बलेको छ भन्ने हेक्का नराख्नु र पार्टी जनतामुखी नभइ नेतामुखी हुनु दुर्भाग्य भयो ।

त्यसपछि पनि माओवादी आन्दोलनले थला पार्दै लगेको परिप्रेक्षमा आन्तरिक खिचातानी केन्द्रबाटै गुट उपगुट बनाउँदै संगठन बनाए । गुटलाई प्रश्रय दिनेखालको नभए बरु बनाउँदै नबनाउने कांग्रेस केन्द्रमा बाहेक कहाँ छ ? भन्ने थाहा हुनै छोड्यो . 

केही छिटफुट भ्रातृ संगठनले आफ्नो केही सक्रियता बढाउँदा फेरि केही आशा जनतामा पलाउन थाल्यो । हुँदै हुँदै निकै आक्रोशित जनताको आशा विद्यार्थी आन्दोलनले लिएको नेतृत्वमाथि देखिन थाल्यो । ०५९ सालको सेरोफेरोलाई हेर्नेहो भने अन्य दल र कांग्रेस आफैँ निकै सुदृढ हुन चाहेको जनताले देख्न थाले । 

भरोसा फेरि पनि कांग्रेसलाई नै गर्न थाले । फलस्वरूपः ६२/६३ को जनआन्दोलनले एउटा स्पष्ट बाटो निर्धारण गर्‍यो । गिरिजाप्रसाद कोइरालो सुझबुझपूर्ण राजनीति पहिलाको भन्दा निकै सुधारिएको र अब्बलता प्रस्तुत गर्दै ध्वंशमा उत्रिएको माओवादीलाई मूलधारमा ल्याउँदै विश्व सामु आफ्नो सफल छवि प्रस्तुत गर्दै आन्दोलनलाई सुरक्षित अवतरण गराएर आम निर्वाचन (संविधान सभाको चुनाव) आफ्नो पार्टी हारेर पनि सफल बनाए ।

आन्दोलनलाई बिर्सनै नहुने पक्ष थियो विद्यार्थी आन्दोलन । त्यबाट उदाएका नेता पार्टीलाई नै आफ्नो कित्तामा लैजान सफल भएका थिए हालका महामन्त्री गगनकुमार थापाले । प्रेरणाका स्रोत नरहरी आचार्य थिए भने साथ दिने गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरू ।

उक्त संविधान सभाले २४० जर्षे राजतन्त्र नै फालेर गणतन्त्रको शङ्खघोष गर्दै नेपाललाई कांग्रेसको नेतृत्वमा संघीय गणतान्त्रिक मुलुक नेपाल घोषणा गर्यो । अनि जनताको भरोसा त कांग्रेसमा बढ्यो तर संगठन विस्तार र प्रशिक्षणको हकमा निरीह  नै रह्यो । 

त्यसयता पार्टीकानगरी नहुने काम बाहेक केही गर्नै छोडेर खाली गुटमा मात्रै रम्न थाले नेताहरू । अनि कार्यकर्ताले काम नपाउनु र साधारण सदस्यसमेत नपाउने परिस्थितिमा राजनीतिक चेत भएको मान्छे त्यसै बस्न सक्दैन । फलस्वरूपः अन्य पार्टीमा जाने र पार्टीले दिएको काम गर्न थाले । 

कार्यकर्ता पलायन हुनुको मुख्य कारण नेतृत्वले न गम्भीर रुपमा लियो न समाधानको उपाय अवलम्बन गर्‍यो  । फलस्वरूपः २०७४ को आम निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिन पुग्यो । यो परिस्थिति आउनुमा हालको नेतृत्व नै जिम्मेवार छ । तर नेतृत्वले त्यसको जिम्मेवारी लिन आफू चाहेन । 

पार्टीले नराम्रोसँग हार बेहोर्दा पनि नौ महिनासम्म समीक्षा गरिएन/गराइएन । बाहिरको आलोचनालाई सजिलै पचाउने तर भित्रभित्र साँठगाठ गर्ने र एउटा घेराभित्र रुमलिन पुगेको नेतृत्वले जनताको आवाज नजरअन्दाज गर्दै गयो । 

बेवास्ता पनि यति गरियो कि आम कार्यकर्ता दास नै हुन् हामीले जे गरे पनि हुन्छ भन्ने ठानियो । अलोकप्रिय भनेको के हो ? जनताले चाहेको के हो ? आजको आवश्यकता, त्यसको ब्यवस्थापनमा त ध्यान जानै छोड्यो ।

यसै बीचमा कयौँ काण्डमा पार्टीलाई नै लान्छित गरियो । कतिपय नेता भ्रष्ट आचरणका देखिँदासमेत नेतृत्वले नजरअन्दाज गर्यो । उनीहरूलाई कारबाहीको भागेदार बनाउन चाहेन । हो,  जनता र पार्टीका बीचमा यसैमा मतभिन्नता देखियो । 

जनता चाहन्थे कुनै काण्डमा मुक्षिएको व्यक्तिलाई पार्टीमा राख्नै हुँदैन भन्ने पक्षमा देखिँदा त्यो कुरा पार्टीले सुन्न चाहेन । फलतः जनता र आम कार्यकर्ताको मन बिच्किदै गयो । 

गरेका काम सही दिशामा देशलाई हिँडाएको, आर्थिक रूपमा देशलाई स्वाबलम्बन बनाउने बाटो कोरेको, गाउँगाउँमा स्कूल, कलेज, स्वास्थ केन्द्रहरू स्थापना, बैंक र बित्तीय संस्थाहरु ठाउँठाउँमा स्थापित गराइएको, खानेपानी बिजुली लगायतका विकासका पूर्वाधार लगायत दर्जनौँ काम र कोरिएका बाटाहरुको शुरूआतकर्ता हामी हौँ हाम्रो नेतृत्व हो भनेर जनतालाई सुसूचित गर्नै सकेन ।

रेडिमेट भ्रम देशभरि फैलाइयो । त्यो भ्रम चिर्न नसक्नु आजको अवस्थामा आउनुको एउटा कारण थियो ।१४ औँ महाधिवेशनपछि दुई महामन्त्रीको रूपमा आएपछि भने कांग्रेस आफ्नै अनुहार जस्तो कांग्रेस, बीपीले परिकल्पना गरेजस्तो कांग्रेस बन्ने बाटोतिर लय फेरेको जस्तो देखिँदै थियो । 

यसमा भाँजो हाल्ने र नेतृत्वलाई निरन्तर गुमराहमा हाली राख्ने एउटा स्वार्थ समूहले आफ्नो रोटी सेक्न छोड्दै छोडेन । त्यो कुरा नेतृत्वकर्ताले बुझ्दै बुझेनन् । आजको मूल समस्या नै यही रह्यो ।

उल्लेखित कुरा लेख्दै बिट मार्ने तर्खरमा थिएँ । यसैबीचमा जेन-जी आन्दोलनको खोलो नेपालमा देखा परि हाल्यो । म बिलखबन्दमा परेँ । बोल्ने लेख्ने स्थिति पनि थिएन । कसरी विश्लेषण गरौ ? कसरी पूरा गरौँ ? भन्ने सोच्दा सोच्दै समय परिस्थिति अनुकूल हुँदै गयो । 

लाग्दै थियो २०७४ सालमा नराम्रोसँग हार बेहोर्दा केन्द्रीय समितिको बैठक बोलाउन नौ महिना लगाएजस्तै यो परिस्थिति पनि फरक होला भन्ने छाँटकाँट थिएन । जनताको आवाज बुझेका दुई जना महामन्त्रीले त्यो अवस्था आउन त दिएनन् तर २/४ दिनमै समीक्षा गर्ने गरी हस्तक्षेप भने गर्न सकेनन् । 

जेन-जीको आन्दोलनलाई निरन्तर आत्मसात् गर्ने आत्मआलोचित भए । कयौँ कुरामा चुकेकोमा माफी पनि मागे । हस्तक्षेप गर्न फलामको चिउरा चपाए सरह भयो । नेता नीति बनाउँछ । देश चलाउँछ भने उसले जनताको चुरो जान्न जरुरी छ । 

जनताको आवाज नसुन्ने, चुलो नदेख्ने, समयको माग के हो थाहा नपाउने, परिस्थितिको आँकलन गर्न खोज्दै नखोज्ने या नचाहने देश दुनियाँसँग अभ्यस्त नहुने मान्छे नेता हुनै सक्दैन ।  उल्लेखित कुरामा नेतृत्वले ध्यान नदिँदा आजको अवस्था आएको हो । 

बल्ल बल्ल केन्द्रीय समितिको बैठक बसेको थियो । इतिहासमै नभएको जात्रा देखाएर नालायकीपन देखाइयो । दुई दिनमा गर्न सकिने निर्णय दुई महिना एक सातासम्म देश र पार्टी संरचनालाई अनिर्णयको बन्दी बनाइएको छ । 

यो कसको स्वार्थपूर्ति गर्न यस्तो नाटक गरिँदै छ ? जनताले छर्लङ्ग बुझिसकेका छन् । जनता बेबकुफ बनाउन मिडियामा आएर अनेकथरि कुरा गर्दा यो अवस्था आएको कुरा अझै चेतेको देखिएन ।

केन्द्रीय समितिको पहिलो दिनको बैठकमा महाधिवेशनको प्रस्ताव लगेर अर्को दिन निणय गर्दै पूरै पार्टीपङ्ति महाधिवेशनको काममा होमिएको भए न अनेकौँ लान्छना सहन पर्थ्यो न पार्टी र व्यक्ति यति कमजोर हुनुपर्थ्यो । 

बैठक अल्झाएर लथालिङ्गपूर्ण अवस्थामा रमाउने, यथास्थितिमा रमाउने, परिवर्तनलाई आत्मसात् नगर्ने परिवर्तन विरोधी तप्काबाट देश र पार्टीलाई मुक्त गर्न सकिएन भने पार्टी त गौण कुरा हो देश नै भड्खालोमा जाने खतरा छ । यो अवस्थाको आँकलन गरेर कांग्रेसले छिटो निर्णय लिनु आजको आवश्यकता हो । (शर्मा हाल यूएईमा कार्यरत छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ