arrow

मुस्ताङ भ्रमण गर्ने विदेशीलाई अब 'जति दिन बस्यो, त्यति दिनको मात्रै' शुल्क लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
mustang-tetang-.jpg

मुस्ताङ। नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकहरूका लागि अब दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए। यो निर्णयसँगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकले अब १० दिनको पदयात्रा अनुमतिका लागि एकमुष्ट ५०० अमेरिकी डलर बुझाउनुपर्ने बाध्यता हटेको छ। अब मुस्ताङ भ्रमण गर्ने विदेशीले माथिल्लो मुस्ताङमा जति दिन बस्छन् त्यति दिनको मात्रै पैसा तिरे पुग्नेछ।

यसअघि माथिल्लो मुस्ताङ प्रस्थान गर्ने विदेशी पर्यटकले कम्तीमा १० दिनका लागि ५०० अमेरिकी डलर पदयात्रा शुल्क बुझाउनुपर्ने व्यवस्था थियो। लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले आफूहरूको मूल माग माथिल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीबाटै हटाउनुपर्ने भए पनि सरकारको उक्त निर्णयले आंशिक रूपमा भए पनि माग सम्बोधन भएको बताए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले पनि सरकारको उक्त निर्णयलाई सकारात्मक भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गतको उपल्लो मुस्ताङ क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ। पदयात्रा शुल्क महँगो भएकाले बर्सेनि झन्डै डेढ लाख विदेशी पर्यटक मुस्ताङ भित्रिँदा करिब तीन वा चार प्रतिशत मात्रै विदेशी पर्यटक माथिल्लो मुस्ताङ जाने गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ