arrow

तनहुँमा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिए, दुई मतदान केन्द्र सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
cdo-tanahun.jpg

तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरिएको मतदाता दर्ता अभियानमा जिल्लामा आठ हजार ३६६ नयाँ मतदाता थपिएका छन्।

गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।

लम्सालका अनुसार, नयाँ दर्तामध्ये ३ हजार २०० जनाले कार्यालयमै पुगेर नाम दर्ता गराएका छन्, जसमा एक हजार ३८२ महिला र एक हजार ८१८ पुरुष रहेका छन्। यस्तै, राष्ट्रिय परिचयपत्र बनाएकाले अनलाइनमार्फत सिधै नाम दर्ता गर्न सक्ने व्यवस्थाका कारण ५ हजार १६६ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन्। यसरी अनलाइनबाट धेरै मतदाताले नाम दर्ता गराएका कारण मतदातालाई सहज भएको कार्यालयले जनाएको छ।

यसैगरी, नौ सय छ जनाले ठाउँसारी र दुई सय ९७ जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएको लम्सालले बताए। विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा कुल दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन्, जसमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार ९१५ महिला रहेको कार्यालयले जनाएको छ।

तनहुँमा दुईवटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिसकिएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरेको हो।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक/एक मतदान केन्द्र रहेकोमा थप एक/एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोहीबमोजिम आयोगमा पठाइएको जानकारी दिए। जिल्लाका दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा हाल तीन सय पाँच मतदान केन्द्र रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ