जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
709
Shares
काठमाडौँ । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा अवस्थित प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न ताल निर्माणका लागि अध्ययन थालिएको हो। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रूपमा धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्न अध्ययन सुरु गरिएको छ।
यसका लागि चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न रु ४० लाख बजेट विनियोजन भएको छ। आयोजना कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा गत हप्ता उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि र कर्मचारी सम्मिलित टोलीले ताल निर्माणस्थलको स्थलगत निरीक्षण गरेको थियो।
टोलीले भौगोलिक स्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताए। उनका अनुसार ताल निर्माणका लागि उपयुक्त देखिएको छ र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायका बारेमा पनि विस्तृत छलफल भएको छ।
आयोजना कार्यालय पोखराका प्रमुख श्रेष्ठले ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिकस्थलका रूपमा मात्र नभइ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने बताउनुभयो। हम्पाल र जलजलाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका रमणीय भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ।
कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाका अध्येता प्राडा जगन्नाथ रेग्मीका अनुसार हिन्दू धर्मग्रन्थहरू (अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवत) मा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको छ। धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको, जडीबुटी औषधिका रूपमा प्रयोग हुने र यस क्षेत्रको भ्रमण तथा पिण्डदान गर्नाले पुण्य र सद्गति प्राप्त हुने उल्लेख छ।
जैविक विविधतायुक्त यस जलजला क्षेत्रमा बोझो, सतुवा, चिराइतो, जटामसी जस्ता बहुमूल्य जडीबुटीहरू पाइन्छन् भने यहाँको पाखामा मृगका बथान, डाँफे, मुनाल, कालिज लगायतका पक्षीहरू अवलोकन गर्न पाइन्छ। म्याग्दीको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकातर्फबाट जलजलालाई पदमार्गले जोडिएको छ भने पर्वतको जलजला गाउँपालिकातर्फबाट कच्ची सडक पनि पुगेको छ।