प्रधानमन्त्रीको सचिवालयको स्पष्टीकरण –वृद्ध उमेरका कारणले विश्वासिलो व्यक्ति नियुक्त गर्नुभएको हो
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
1k
Shares
फाइल तस्बिर
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले कर्मचारी नियुक्ति विवादपछि वृद्ध उमेरका कारण विश्वासिलो व्यक्ति प्रधानमन्त्रीले नियुक्त गरेको जनाएको छ ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले सोमबार स्पष्टीकरणसहितको प्रेस विज्ञप्ति जारी गर्दै कार्कीका प्रमुख स्वकीय सचिव ‘आदर्श श्रेष्ठ विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्ने व्यक्ति’ भएको बताएको हो ।
विज्ञप्तिमा जेन–जी आन्दोलनको बलमा स्थापित सरकारकी प्रधानमन्त्री कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आएको दाबी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको हो । सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरूको वृद्ध उमेरको कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो।’
श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेपछि विरोध भएको सूचना बाहिरिएको थियो ।
गत असोज २ गते नै श्रेष्ठले श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका थिए । श्रेष्ठले आफ्ना अन्य नातेदारलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको आरोप छ ।
विज्ञप्तिमा थर मिलेकै भरमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई लाञ्छना लगाइएको दाबी गरिएको छ ।