काठमाडौँ। साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा लगाइएको प्रतिबन्धहरू खुकुलो पारेको छ। सरकारले यसबारे कुनै आधिकारिक बयान नदिए पनि कूटनीतिक र प्रिमियम भिसाधारक स्रोतहरूले एएफपीलाई नियम परिवर्तन भएको पुष्टि गरेका छन्। स्रोतहरूका अनुसार, तथाकथित 'प्रिमियम आवासीय दर्जा' भएका गैर–मुस्लिम व्यक्तिहरूले अब रियादमा रहेको देशको एकमात्र मदिरा पसलमा रक्सी किन्न पाउनेछन्, जुन पसल यसअघि कूटनीतिज्ञहरूका लागि मात्र खुला रहने गरेको थियो।
साउदी अरबको कडा कानूनका कारण नाम नबताउने शर्तमा एएफपीले कुरा गरेका चार व्यक्तिहरूले नियमहरू परिवर्तन भएको बताए। उनीहरू कूटनीतिक स्रोत र प्रिमियम भिसा स्थिति दुबै भएका बासिन्दाहरू थिए। नाम नबताउने सर्तमा एक प्रिमियम भिसाधारकले "मैले पनि खरिदका लागि प्रयास गरेँ। म दुई दिनअघि त्यहाँ गएको थिएँ र मेरा लागि खरिद खुला थियो" भने। उनले यसबाट कालो बजारबाट किन्नुको सट्टा "धेरै पैसा बचेको र मूल्यहरू उचित रहेको" बताए।
एक कूटनीतिज्ञले एएफपीलाई प्रिमियम रेसिडेन्सीको पहिचान भएका व्यक्तिहरूले पछिल्ला केही दिनहरूमा सहजै मदिरा किन्न सकेको बताएका थिए र प्रवासीका ह्वाट्सएप ग्रुपहरूमा यही समाचार आइरहेको जानकारी दिए। अर्का एक कूटनीतिज्ञले मदिरा पसल खचाखच भरिएको देखेको र मानिसहरूलाई ३० बोतलसम्म मदिरा लिएर बाहिर निस्किरहेको अवलोकन गरेको बताए।
सन् २०१९ मा सुरु गरिएको साउदी अरबमा प्रिमियम रेजिडेन्टको स्थिति विदेशीहरूको चयन समूहको लागि उपलब्ध छ, जसका लागि ८ लाख रियाल (झन्डै २ लाख १३ हजार अमेरिकी डलर) को एक पटक भुक्तानी आवश्यक पर्छ। यो भिसाले मानिसहरूलाई स्थानीय 'प्रायोजक' बिना नै साउदी अरबमा बस्न, काम गर्न र स्वतन्त्र रूपमा लगानी गर्न अनुमति दिन्छ। साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान शक्तिमा आएपछि अर्थव्यवस्थालाई विविधीकरण गर्ने र पर्यटक तथा अन्तर्राष्ट्रिय व्यापारलाई आकर्षित गर्ने योजना अनुसार निरन्तर परिवर्तनहरू गरिँदै आएको छ। अहिले पनि यो सुविधा स्वदेशी मुस्लिमहरूको लागि खुला गरिएको छैन।