टी-२० विश्वकप २०२६: नेपाल समूह 'सी' मा, सबै खेल भारतको मुम्बईमा हुने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
1.1k
Shares
काठमाडौँ। सन् २०२६ मा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै यो तालिका सार्वजनिक गरेको हो।
भारत र श्रीलङ्कामा हुने आईसीसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ। सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ। नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन्। नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन्। वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुई-दुई पटकका विश्वविजेतासमेत हुन्।
नेपालको पहिलो खेल आगमी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ। यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी अध्यक्ष जय शाहलाई भेटेर नेपालका खेलहरू भारतमा राखिदिन आग्रह गरेका थिए, र उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएको अध्यक्ष चन्दले बताए।
योसँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ, यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो।