arrow

जाडो छल्न बेँसी झरेनन् स्थानीय

कोरला नाका सञ्चालनमा आएपछि फेरियो माथिल्लो मुस्ताङको परम्परा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
korala-naka-upper-mustang.jpg

मुस्ताङ। सदियौंदेखि हिउँदयाम सुरु भएपछि जाडो छल्न र घुम्ती व्यापारका लागि मानवविहीन हुने माथिल्लो मुस्ताङको ऐतिहासिक परम्परामा यस वर्ष परिवर्तन आएको छ। नेपाल–चीन उत्तरी कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यस वर्ष अधिकांश नागरिक साविककै स्थानमा रहेका छन्।

अघिल्लो वर्षसम्म माथिल्लो मुस्ताङका ९० प्रतिशत नागरिक जाडो छल्न बेँसी झरिसक्नेमा यस वर्ष आंशिक नागरिकमात्र बेँसी झरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिए। कोरलानाका गत ३० भदौमा पूर्ण रूपमा सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङीका लागि वैकल्पिक रोजगारीको ढोका खुल्न पुगेको छ। यो नाकाबाट हालसम्म मुस्ताङ भन्सार कार्यालयले झन्डै रु चार अर्बको राजस्व योगदान गरिसकेको छ।

कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै धेरैजसो नागरिकले नाकाबाट व्यापार व्यवसायका साथै अस्थायी वैकल्पिक रोजगारी पाएको वडाध्यक्ष गुरुङले बताए। कोरलानाकाको नेपाल–चीन दसगजा क्षेत्रमा करिब तीन दर्जन बढीले त्रिपालको टहरा निर्माण गरी व्यापार व्यवसाय चलाएर बसेको उनले बताए। कोरलानाकामा मालवस्तु ‘लोडअनलोड’ गर्ने र चीनबाट पैठारी गरिएका विद्युतीय कार (ईभी) ल्याउन स्थानीय युवाले राम्रो रोजगारी प्राप्त गरेको वडाध्यक्ष गुरुङको भनाइ छ। कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँका युवायुवतीले दैनिक रु पाँचदेखि १० हजारसम्म आम्दानी गर्ने गरेका र नाकाको भित्र र बाहिर सबै गरी झन्डै पाँच सयभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेको उनले जानकारी दिए।

दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरलानाकामा व्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुईतिहाइ नागरिक साविककै स्थानमा रहेका छन्। गत वर्ष यसबेलासम्म ८० प्रतिशत नागरिक बेँसी झर्ने गरेकामा यस वर्षमा लोमान्थाङ गाउँपालिकाबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ५० प्रतिशत नागरिक मात्र बेँसी झरेका छन्।

कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि जोमसोम–कोरला सडकमार्गमा सञ्चालनमा रहेका होटल यथाअवस्थामा खुलेका छन् भने लोमान्थाङ बजारका पूरै होटल सञ्चालनमा रहेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। उनले कोरलानाका बन्द भएमात्र यहाँका नागरिक झर्ने नत्र यही बसेर व्यापार चलाएर बस्ने मनस्थितिमा रहेको बताए। प्रमुख पौडेल उपल्लो मुस्ताङमा हिउँदयामसँगै चिसो अत्यधिक बढेर बिहानबेलुका माइनस २० डिग्रीसम्म पुग्ने र दैनिक जनजीवनमा प्रतिकूल असर परेको बताए।

यस्तै, नेपाल–चीन कोरलानाकामा मालवस्तु ढुवानीका लागि झन्डै तीन सय बढी कन्टेनर लोडअनलोडको पर्खाइमा बसेको भन्सारका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिए। चिनियाँ भन्सार, कोरलानाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधन पैठारी र भन्सार जाँचपासका लागि लामबद्ध रहेको भन्सार प्रमुख पौडेलले सुनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ